बेलबारी । मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा जारी बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रित गोल्डकपको शनिबार तोकिएको फाइनल खेल वर्षाका कारण स्थगित भएको छ ।

२ दिनदेखिको निरन्तर वर्षाका कारण शुक्रबार तोकिएको फाइनल खेलसमेत स्थगित भएको थियो । शनिबार बिहानैदेखिको वर्षाका कारण खेल मैदानमा पानी जमेको छ । खेलमैदानको धेरै भागमा पानी जमेका कारण खेल स्थगित गरिएको आयोजक डाँगीहाट युथ क्लबका अध्यक्ष बिक्रम बान्तावा राईले जानकारी दिए ।

अब फाइनल खेल असोज १४ गते मंगलबार दिउँसो ३:३० बजे हुने आयोजकले जनाएको छ । उपाधिका लागि धरान फुटबल क्लब र रोयल क्लब वेष्ट बंगाल भिड्ने छन् ।

प्रतियोगितामा विजयी टिमले ५ लाख र उपविजेताले २ लाख ५० हजार पाउनेछ । गतवर्ष बिजेताले २ लाख २२ हजार र उपविजेताले १ लाख ११ हजार प्राप्त गरेको थियो । सोही पुरस्कार राशि यसपटक दोब्बर बनाइएको हो ।