काँकरभिट्टा । वैशाखमा सम्पन्न मेची नेत्रालय मेचीनगर गोल्डकपको चौँथो संस्करणमा आयोजकले सात लाखभन्दा बढी नाफा भएको जनाएको छ । आयाजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर मेचीनगरले शनिबार पत्रकार सम्मेलन गरी गोल्डकपमा नाफा भएको जानकारी गराएको हो ।
तेस्रो संस्करणमा ६ लाख रुपैयाँभन्दा बढी नोक्शान व्यहोरेको गोल्डकपको चौथो संस्करणमा भने ७ लाख रुपैयाँभन्दा बढी नाफा भएको हो । गएको वैशाख १२ देखि २१ गतेसम्म काँकरभिट्टा माध्यमिक विद्यालयको खेलमैदानमा भएको चौथो मेची नेत्रालय मेचीनगर गोल्डकप २०७६ मा आयोजकले ७ लाख १६ हजार १७५ रुपैयाँ नाफा गरेको छ ।
प्रतियोगिताको आय व्याय सार्वजनिक गर्न शनिबार काँकरभिट्टा बहुमुखी क्याम्पस परिसरमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतियोगिताको आर्थिक समिति संयोजक गंगालाल गुरुङले कुल ६१ लाख ३५ हजार ५७५ रुपैयाँ आम्दानी तथा ५४ लाख १९ हजार ४ सय रुपैयाँ विभिन्न शीर्षकमा खर्च भई कुल ७ लाख १६ हजार १७५ रुपैयाँ नाफा गरेको प्रतिवेदन सार्वजनिक गर्नुभयो ।
उहाँले तेस्रो संस्करणको कुल घाटा ६ लाख ५२ हजार रुपैयाँ भएको र त्यसलाई समेत पूर्ति गरी कुल ६४ हजार १ सय ७५ रुपैयाँ बचत भएको आयोजक सेन्टरका प्रमुख सल्लाहकारसमेत रहनु भएका गुरुङले जानकारी दिनुभयो । चौथो प्रतियोगिता सम्पन्न गर्न दाताले बोलेको कुल २ देखि अढाई लाख रुपैयाँ समेत संकलन हुन बाँकी छ । सार्वजनिक गरेको हिसाब यो बाहेकको हो ।

आयोजकका अनुसार १ नम्बर प्रदेश सरकार, मेचीनगर नगरपालिका राष्ट्रिय खेलकुद परिषदलगायत विभिन्न संघसंस्थाबाट अपेक्षा गरेभन्दा आर्थिक सहयोग भएका कारण यो पटकको प्रतियोगिता नाफामा गएको उहाँको भनाई छ । तर, आयोजकले यो भन्दा बढी नाफाको लक्ष्य राखेको भए पनि गेट टिकटबाट अपेक्षाअनुसार रकम संकलन नभएका कारण सोचेअनुसार नाफा नभएको गुरुङको भनाई छ ।
प्रतियोगितामा गेट टिकटबाट ६ लाख ६७ हजार रुपैयाँ संकलन भएको छ । जिल्ला खेलकुद विकास समिति झापाका निवर्तमान अध्यक्ष शंकर थापाको प्रमुख आतिथ्यतामा भएको पत्रकार सम्मेलनमा प्रतियोगिता सम्पन्न गर्न प्रत्यक्ष वा परोक्षरुपमा सहयोग पुर्याउने संघ संस्थालाई सम्मान गरिएको थियो ।

प्रमुख अतिथि थापा, झापा जिल्ला फुटबल संघका महासचिव शेरबहादुर बस्नेत, आयोजक संस्थाका कार्यवाहक अध्यक्ष नवराज ओलीलगायतले सम्मान पत्र प्रदान गर्नुभएको थियो । नाइट चेस क्लबका महासचिव अशोक राईले सञ्चालन गरेको पत्रकार सम्मेलनमा आयोजक संस्थाका पदाधिकारीहरुले पत्रकारको जिज्ञाशाको जवाफ दिनुभएको थियो ।
यसैबीच, आयोजकले पाँचौ संस्करणका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)सँग २०७७ सालको जेठ पहिलो सातामा तयारी गर्ने गरी पत्राचार गरेको जनाइएको छ ।