अर्जुनधारा । रोलिङ फुटबल क्लब धुलाबारीलाई सडन डेथमा पराजित गर्दै शिवसताक्षी युवा क्लब झापाको अर्जुनधारा १ स्थित सिस्नेमा जारी प्रदेशस्तरीय शहीद टेक-मान स्मृति फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको अन्तिम सेमिफाइनल खेलमा शिवसताक्षीले सडन डेथमा १-० गोलले रोलिङलाई पराजित गरेको हो । निर्धारित समयमा दुवै टोलीले ४-४ गोल गरेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

टाइब्रेकरमा पनि समान ४-४ गोल नै भएपछि खेलको निर्णय सडन डेथमा भएको थियो । रोहन कार्कीले शिवसताक्षीका लागि निर्णायक गोल गरेका थिए । उनी खेलको म्यान अफ दी म्याच घोषित भए । उनलाई राष्ट्रिय सभाकी सदस्य सरिता प्रसाईंले नगद ३ हजार पुरस्कारस्वरुप प्रदान गरिन् ।

शहीद टेकमान रंगशाला निर्माण तथा व्यवस्थापन समिति र सयपत्री युवा समूहद्वार आयोजित प्रतियोगिताको पहिलो सेमिफाइनल खेल आयोजक सयपत्री युवा समूह र चन्द्रगढी फुटबल एकाडेमीबीच हुनेछ ।

प्रतियोगितामा १० टिम सहभागी छन् । प्रतियोगिताको विजेताले नगद ५० हजार र उपविजेताले नगद ३० हजार पाउनेछ ।