अर्जुनधारा । झापाली कवि कालीबहादुर थापाले रचना गरेका कविताहरुको संग्रह ‘बगरका कणहरु’ एक समारोहबीच सोमबार विमोचन गरिएको छ । अर्जुनधारा १ सिस्नेस्थित शान्ति चोकमा सयपत्री युवा समूहले आयोजना गरेको कार्यक्रममा उक्त कृतिको विमोचन गरिएको हो ।

पूर्व शिक्षक तथा सर्जक थापाकोे पहिलो कृतिका रुपमा प्रकाशित ‘बगरका कणहरु’ संग्रहको साहित्यकार सरोजकुमार ओलीलगायत अगुवा साहित्यकारहरुले एकसाथ विमोचन गरेका हुन् । ९० वटा कविता समेटिएको ‘बगरका कणहरु’ कविता संग्रहको प्रकाशक सयपत्री युवा क्लब रहेको छ ।

विभिन्न समयमा रचना गरिएको कविता संग्रहमा व्यावहारिक जीवनका अनेकन् पाटालाई सहिसमेटिएको छ । समूहका अध्यक्ष श्रीप्रसाद नेपालको अध्यक्षतामा आयोजित कार्यक्रममा प्राध्यापक जनार्दन दाहालले स्वागतसहित कृतिबारे चर्चा गरेका थिए ।

हचुमासा सामुदायिक वन उपभोक्ता समूहको सहयोगमा आयोजित कार्यक्रममा महेन्द्र बहुमुखी क्याम्पस धरानका नेपाली विभागका उपप्राध्यापक गोपी खतिवडाले कृतिको समिक्षा गरेका थिए । आयोजकका भेषराज खनालले सञ्चालन गरेको कार्यक्रममा कृतिबारे साहित्यकार कृष्ण धराबासी, गणेश निरौला, विष्णु पोख्रेल, कलाकार लय संग्रौला, संविधान सभा सदस्य भक्त खपांगी, प्रेमबहादुर गिरीलगायतले आफ्ना भनाइ राख्दै सर्जकलाई शुभकामना दिएका थिए ।