काठमाडौं । देशमा दशैंको रौनक छाएको बेला फुटबल र क्रिकेट खेलाडीहरु भने देशबाहिर छन् । क्रिकेट टिम सिंगापुर हुदै ओमान पुगेका छन् भने फुटबल टिम अष्ट्रेलियामा ।

ओमानमा हुने टी-२० क्रिकेट सिरिज खेल्न नेपाली क्रिकेट टिम त्यहाँ पुगेको हो । टिमले दुईवटा खेल खेलेर सतप्रतिशत जित निकालेको छ । यता फुटबल टिमले अष्ट्रेलियासँग उसैको भूमिमा विश्वकप छनोटअन्तर्गत दोस्रो चरणको अवे खेल खेल्दैछ । खेलाडीका लागि जित नै उत्सव हो अनि पर्व पनि । जितमा खेलाडी रमाउने गर्छन् भने हारमा पाठ सिक्छन् ।

पाँचपटक विश्वकप खेलिसकेको राष्ट्र अष्ट्रेलियासँग नेपालले उसैको भूमिमा विजयादशमीको ठीक दुई दिनपछि २३ गते बिहीबार प्रतिस्पर्धा गर्दैछ । यहि खेलको लागि नेपाली टिमको ध्यान केन्द्रीत छ ।

आफ्ना परिवारहरु स्वदेशमा दशै मनाइरहदा खेलाडीहरु भने उता अष्ट्रेलियालाई मात खुवाउने दाउँमा हुनेछन् । यसै सन्दर्भमा नेपाली फुटबल टिमका केही खेलाडीलाई उनीहरु प्रस्थान गर्नुअघि अष्ट्रेलियामा रहँदा दशै कतिको याद आउँछ भनेर सोधिएको थियो । खेलाडीको जवाफ उनीहरुकै शब्दमाः

परिवार मिस हुन्छ : 

 

नवयुग श्रेष्ठ, फरवार्ड

हरेक चार्ड पर्व विशेष नै हुन्छ । मुख्यगरी दशै–तिहार । अब यो पटक परिवारलाई चाहिँ निकै सम्झिनेछु । टीका लगाउन पाएको भए अथवा परिवारसँग दशैं मनाउन पाएको भए छुट्टै रमाइलो हुन्थ्यो ।

ठूलाबडाको आशिर्वाद थाप्नु निकै महत्वपूर्ण अवसर हो । तर पनि केही छैन । हामी देशको इज्जत राख्ने जिम्मेवारी लिएर अष्ट्रेलिया जादैछौं । सारा नेपालीबाट हाम्रो टिमलाई शुभकामना प्राप्त हुनेछ । अहिलेको हाम्रो अभ्यासले अष्ट्रेलियालाई बराबरीमा रोक्न सक्छौ भन्ने आशा छ ।

देशबाहिर पनि रमाइलो गर्छौं :

 

विशाल राई, फिडफिल्डर

अब दशैं घरमा बस्दा नै हो रमाइलो भनेको । यो पटक विशेष थियो झन् । यो भन्दा अघिल्लो दशैंमा मेरो भान्जा थिएन । उसको यो पहिलो दशैं हो । त्यसैले पनि स्पेसल हुने थियो ।

तर मेरो मुख्य प्राथमिकता भनेको त फुटबल नै हो । अष्ट्रेलियासँगको खेल दशैंकै बेलामा परेको छ । यसअघि पनि देशबाहिर दशैं मनाएको छु । बाहिर हुँदा पनि रमाइलो नै हुन्छ । हामी साथीहरुबीच टिका लगाउने, रमाइलो गर्ने गर्छौं ।

उमेर समूहमा एएफसी यू-१६ फुटबल खेल्न इरान जाँदा मेरो दशैं मिस भएको थियो । त्यसपछि अर्को एकपटक पनि दशैं मिस भएको छ । साफ च्याम्पियनसिपको अभ्यास भएको हँुदा २ दिन मात्रै छुट्टी भएको थियो । घर टाढा झापा भएको हुँदा म गइनँ ।

दशैंको लागि बल्लबल्ल छुट्टी हुँदा घर गइन्छ तर घरमा पनि त्यति बसिँदैन । साथिहरुसँग घुम्न जाने नै हुन्छ । दशैको बेलामा हाम्रोतिर पहिले धेरै फुटबल प्रतियोगिताहरु हुन्थ्यो । म पनि खेल्थेँ । हामी अघिल्लो दिनसम्म फुटबल खेल्थ्यौं ।

पहिले दशैंमा टिका लगाउँदा रातो नै लगाउथ्यौं, तर आजभोलि भने सेतो टिका लगाउने प्रचलन चलेको छ । तर हामीलाई सेतो नै भन्ने कुरा हुँदैन । सेतो, रातो दुबै लगाउँछौं ।

पहिलोपटक दशैंमा देशबाहिर :

 

विकेश कुथु, गोलकिपर

योभन्दा अघि कुनै पनि दशैमा देशबाहिर थिइनँ । यसअघि २०१६ मा सोलिडारिटी कपको उपाधि जित्दा चाहिँ तिहार मिस भएको थियो । तर दशैं चाहिँ अहिलेसम्म मिस भएको थिएन । यो पहिलो पटक हो ।

योभन्दा अघिको दशैं सबै घरपरिवारसँगै बसेर मनाउने गरेको थिएँ । यो पटक अलिक खल्लो त हुने नै भयो । तर पनि देशको प्रतिष्ठाको कुरा छ । हाम्रो प्राथमिकता त चार्डपर्व भन्दा पनि फुटबल हो । हाम्रो फोकस नै फुटबल हो । यो पटक मनाउन पाइएन, केही छैन । अब अष्ट्रेलियामा हुने दाजुभाईहरुले केही कार्यक्रम राखेमा त्यो छुट्टै कुरा हो ।

दशैंभन्दा अष्ट्रेलियाविरुद्धको भिडन्त ठूलो :

 

अञ्जन विष्ट, मिडफिल्डर

यसअघिको दशैंमा टिका थिएन । जुठो परेको थियो । तर यो पटक भने रमाइलो गरी मनाउने योजना थियो । मेरो भने योपटक पनि मिस हुने भयो ।

दशैं हाम्रो महान चाड हो । यसमा हामी सबै परिवारसँगै हुन्छौं । तर पनि हामी एउटा मिसनमा छौं । अष्ट्रेलियामा पनि साथीहरुसँग दशैं त मनाइहालिन्छ । तर हामी एउटा लक्ष्य बोकेर अष्ट्रेलिया प्रस्थान गरेका छौं ।

त्यसैले यो बेलामा हाम्रो लागि दशैंभन्दा पनि विश्वकप छनोट अन्तर्गत दोस्रो चरणमा अष्ट्रेलियासँग प्रतिस्पर्धा नै महत्वपूर्ण हो । कसरी हुन्छ राम्रो नतिजा ल्याउने भन्ने नै हो ।

सेलरोटी र मासुको पारखी हुँ :

 

हेमन गुरुङ, मिडफिल्डर

यो भन्दा पहिले पनि निकै पटक दशैं मनाउन पाहेको छुइन । एन्फामा हुदा खेरि नै दशैको बेलामा नै प्रतियोगिता पथ्र्यो । त्यसैले दशैं छुट्दै आएको छ ।

उमेर समूहमा हुदा दशैं छुटेको थियो यसअघि । यो पटक भने सिनियर टिमबाट दशैं छुटेको छ । यो पटकको दशैं घरतिरै मनाउन पाएको भए राम्रो हुने थियो । किनभने भाइले विद्यार्थी भिषामा क्यानाडाको लागि एप्लाई गरिरहेको छ । अर्को वर्ष यहाँ भाई नहुन सक्छ । त्यसैले सबै जना यहाँ विशेष दशैं मनाउने योजनामा थियौं । तर आफ्नै दशैं मिस भइदियो ।

बिशेषगरी दशैमा मलाई सेलरोटी र मासुको परिकार मन पर्छ । यसअघिका दशैंहरु त्यसरी नै विते भनौं । घरका सबैजनासँग तास खेल्ने, रमाइलो गर्ने गरिन्थ्यो ।

टिकाको दिनमा अलिकति नरमाइलो त लाग्ला, तर हाम्रो फोकस दशैंमा भन्दा पनि अष्ट्रेलियाविरुद्ध हुनेछ । अष्ट्रेलियालाई सकेसम्म रोक्ने नै हाम्रो लक्ष्य हो । सोचेजस्तो नतिजा ल्याएर दशैंमा सारा जनतालाई खुशीको समाचार दिनेछौं । अनलाइन खबरबाट