झापा । नेपाली क्रिकेट टोली ओमानमा जारी पाँच राष्ट्र सम्मिलित टि ट्वान्टी सिरिजमा बुधबार पराजित भएको छ । अघिल्ला दुई खेलमा विजयी भएको नेपाली टोली बुधबार आयरल्यान्डसँग १३ रनले पराजित भएको छ ।

१ सय ४६ रनका लक्ष्य पछ्याएको नेपाली टोलीले १९.५ ओभरमा सबै विकेट गुमाएर १ सय ३२ रन मात्र बनाउन सक्यो । नेदरल्यान्ड्विरुद्ध उच्च प्रदर्शन गरेका करण केसीले बाहेक मध्य र तल्लो क्रमका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न नसक्दा लगातार तेस्रो खेल जित्ने नेपालको सपना पुरा हुन सकेन ।

शीर्ष चार ब्याट्सम्यान र करणले मात्र नेपालका लागि दोहोरो अंकमा रन जोडे । इशान पाण्डेले २२, कप्तान पारस खड्काले २५, आरिफ शेखले २६, उपकप्तान दीपेन्द्र सिंह ऐरीले १९ र करणले १६ रन बनाएका थिए । आयरल्यान्ड्सका मार्क एडियर, जर्ज डकरेलले समान ३ विकेट लिएका थिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको आयरल्यान्डले पाउल स्टर्लिङको अर्धशतकसँगै ८ विकेटको क्षतिमा १ सय ४५ रन बनाएको थियो । स्टर्लिङले ५९, एन्डी बलब्रिनीले ३८ र स्टुआर्ट थम्पसनले २१ रन जोड्नुबाहेक कुनै ब्याट्सम्यानले दोहारो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि सन्दीप लामिछाने र अभिषाश बोहोराले समान २, ललितनारायण राजवंशी र करणले समान १ विकेट लिए । नेपालले अघिल्ला दुई खेलमा हङकङ र नेदरल्यान्ड्समाथि जित दर्ता गराएको थियो । ओमान, आयरल्याड र नेपालको समान ४ अंक छ । नेरल्यान्ड्स र हङकङ अंक विहिन छन् । राउन्ड रोविनको अन्तिम खेलमा बिहीबार नेपालले ओमानको सामना गर्नेछ ।