झापा । प्रदर्शनको जति चर्चा गरे पनि खेलमा अन्ततः गणना परिणामकै हुन्छ । विश्व कप छनोटमा नेपालले समूह चरणका ३ खेल खेलिसकेको छ । जसमा १ जित र २ हार छन् । २ खेलमा १२ गोल खाएको नेपालले विपक्षी पोष्टमा २ गोल गरेको छ ।

विश्व कप छनोटको दोस्रो चरणको यात्रा नेपाली टोलीले गत महिना सुरु गरेको थियो । तर, सुरुवात मै टोलीलाई नराम्रो झड्का लाग्यो । कुवेतसँग ७-० को हार होला भन्ने कसैले कल्पना समेत गरेका थिएनन् । हारले नेपाली टोली र परिवर्तनको नामसहित अखिल नेपाल फुटबल संघ (एन्फा) को नयाँ नेतृत्वको पनि खुब आलोचना भयो । आलोचना अस्भाविक पनि थिएन । नेपालले त्यस्तो फराकिलो हार झन्डै ८ वर्षमा पहिलो पटक भोगेको थियो ।

भदौ १९ गते कुवेतसँग ७-० ले पराजित भएर स्वदेश फर्केर ५ दिनपछि चाइनिज ताइपेसँग खेल्दा नेपाली टोली २-० ले विजयी भयो । दुवै गोल अन्जन विष्टले गरे । त्यो जितले ५ दिन अघिल्लो लज्जास्पद हारलाई केही हदसम्म मल्हम लगाउने काम गर्यो । फेरि नेपाली टोलीमाथि थोरै भए पनि विश्वास जाग्यो ।

त्यसपछि नेपाली टोलीले फेरि सामना गर्नुप¥यो समूह बीकै सबैभन्दा बलियो टोली अष्ट्रेलियाको । कतातिर कुवेतसँग नेपालको त्यो फराकिलो हार पृष्ठभूमि थियो । अर्को अष्ट्रेलियाले त्यही कुवेतलाई ३-० ले हराउँदै विजयी सुरुवात गरेको थियो । त्यसले पनि नेपाली खेलाडी समर्थक सबै हारका लागि पहिला नै मानसिकरुपमा तयार थिए । खाली अन्तर कति हुन्छ भन्ने मात्र कौतुहलताको विषय थियो ।

अष्ट्रेलियाका प्रशिक्षकले प्रि म्याच कन्फ्रेन्समा बढीभन्दा बढी गोल गर्ने योजना सुनाएका थिए । नेपाली टोलीका प्रशिक्षक योहान कालिनले अनेपक्षित नतिजाको सम्भावना रहेको सुनाए । खेल सकिँदा दुवैको अनुमान गलत भयो । न त अनेपक्षित नतिजा निस्कियो न त अष्ट्रेलियाले नेपालमाथि कुवेतले भन्दा बढी गोल गर्न सक्यो ।

नेपाली फुटबललाई नजिकबाट नियाल्ने र टोलीप्रति सहानुभूति राख्नेले अष्ट्रेलियासँगको जितलाई स्वभाविक नै माने । फुटबलमा एसियाको पावर हासमा रहेको आफुभन्दा वरियतामा सयौं स्थानमाथि रहेको टोलीसँग नेपालको त्यो नतिजा ठिकै मानेका छन् ।

अब फेरि नेपाली टोली अर्को टोलीको तयारीमा जुटेको छ । छनोटको तेस्रो खेलका लागि नेपाली टोली शनिबार नै अम्मान पुगिसकेको छ । तर, जोर्डनसँग नेपाली टोलीको इतिहास सम्झनलायक छैन । जोर्डनसँगको अवे खेलमा भोगेको त्यो ९-० को हार अहिले पनि धेरैलाई राम्ररी याद छ । त्यो खेल थियो सन् २०११ को अक्टुबर २३ मा । टोलीको खुब आलोचना भयो ।

पाँच दिनपछि त्यही टोलीसँग नेपालले दशरथ रंगशालामा १-१ को बराबरी खेल्दा फेरि समर्थकले नेपाली टोलीको प्रशंसा गरे । खेलमा यो चलिरहन्छ । हार्दा आलोचना, जित वा बराबरीमा तारिफ । घरेलु समर्थकका माझ नेपाली टोलीले निकै जोशिलो प्रदर्शन गरेको थियो ।

खेलपछि तत्कालिन कप्तान सागर थापाले भनेका थिए, हामीलाई देशको माटोले चिन्छ । अहिले हामी उच्च प्रदर्शन गछौं । यसपटक कस्तो प्रदर्शन रहन्छ त्यो हेर्न बाँकी छ । नेपाल र जोर्डनबीचको खेल नेपाली समय अनुसार साँझ ९ः४५ बजे सुरु हुनेछ । नेपाल फिफा वरियताको १ सय ६१ औं स्थानमा छ भने जोर्डन ६३ स्थानमाथि छ । जोर्डनले २ खेलमा ४ अंक जोडिसकेको छ ।