झापा । गौरादह नगर खेलकुद विकास समितिले आयोजना गरेको झापा जिल्ला अन्तर पालिका मेयर कप पुरुष भलिबल प्रतियोगितामा आयोजक गौरादह, दमक र शिवसताक्षी नगरपालिकाले जीत दर्ता गरेका छन् ।
गौरादहको स्थानीय जनता माविको खेलमैदानमा आयोजित प्रतियोगिताको उद्घाटन खेलमा आयोजक गौरादह नगरपालिकाको टिमले मेचीनगर नगरपालिकाको टिमलाई सहज सेटमा पराजित गर्यो । गौरादहले २५-२२ र २५-१७ को सोझो सेटमा पराजित गरी दोस्रो चरणमा प्रवेश गरेको हो ।
दोस्रो खेलमा दमक नगरपालिकाको टिमले भद्रपुर नगरपालिकाको टिमलाई पनि सोझो सेटमा पराजित गर्यो । जसमा दमकले २५-१३ र २५-१८ को सोझो सेटमा भद्रपुरलाई पराजित गर्दै अर्को चरणमा स्थान बनायो ।

आजको अन्तिम खेलमा शिवसताक्षी नगरपालिकाको टिमले संघर्षपूर्ण जीत निकाल्दै अर्जुनधारालाई पराजित गर्यो । शिवसताक्षीको टिमले जीत निकाल्नका लागि बेस्ट अफ थ्रीको रिजल्ट पर्खनु परेको थियो । जसमा पहिलो खेल अर्जुनधाराले आफ्नो पक्षमा पारेको थियो ।
खेलको रिजल्ट अनुसार अर्जुनधाराले पहिलो सेटमा २५-१३ अंकको फराकिलो अन्तर निकालेर जीत निकालेको थियो । तर, दोस्रो र तेस्रो सेट क्रमशः २५-१९ ,२५-१८ को संघर्षपूर्ण अंकमा शिवसताक्षीले बाजी मारेको हो ।

प्रतियोगितामा झापाका १५ स्थानीय पालिकामध्ये १३ वटा पालिकाले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले नगद १ लाख पाउने आयोजकले जनाएको छ ।