झापा । फिफा विश्वकप २०२२ को छनोट दोस्रो चरण अन्तर्गत चौथो खेलमा नेपाल र जोर्डन खेल्दैछन् । पहिलो हाफको खेल सकिंदा खेल गोलरहित बराबरीमा चलिरहेको छ ।

घरेलु टोली जोर्डनले पहिलो मिनेटदेखि नै दबाब बनाएपनि गोल गर्न सकेको छैन । कप्तान तथा गोलरक्षक किरण चेम्जोङले तेस्रो मिनेटमा नै उत्कृष्ट बचाउ गर्दै नेपाललाई खेलमा कायम राखेका थिए । त्यसपछि बलमा पकड बनाएको जोर्डनले नेपालको हाफमा दबाब दिएपनि उल्लेख्य अवसर सिर्जना गर्न सकेको छैन ।

नेपालका लागि ३६ औं मिनेटमा सन्तोष तामाङले पोस्टमा प्रहार गरेका थिए । उनले पेनाल्टी क्षेत्रबाहिरबाट गरेको प्रहार गोलरक्षकले विफल पारेका थिए । नेपालले काउन्टर अट्याकमा केहि अवसर सिर्जना गरेपनि अन्तिम थर्डमा भने बल पकडमा राख्न सकिरहेको छैन ।

प्रशिक्षक योहान कालिनले अष्ट्रेलियाविरुद्ध टोलीबाट सुरुवाती ११ मा ३ खेलाडी परिवर्तन गरेका छन् । पछिल्लो खेलमा बेन्चबाट मैदान प्रवेश गरेका फरवार्ड विमल घर्तीमगर जोर्डनविरुद्ध सुरुवाती रोजाइमा रहेका छन् । उनलाई आक्रमणमा रवी पासवान, सुजल श्रेष्ठ र अन्जन विष्टले साथ दिनेछन् । मिडफिल्डको मध्यभागमा रोहित चन्द र सन्तोष तामाङ रहेका छन् । अघिल्लो खेलमा बेन्चबाट आएका सन्तोष विशाल राईको स्थानमा टोलीमा आएका हुन् ।

डिफेन्सको मध्यभागमा अनन्त तामाङ र देवेन्द्र तामाङको जोडीले निरन्तरता पाएको छ । बायाँ डिफेन्समा सुमन अर्याल र दायाँमा दिनेश राजवंशी रहेका छन् । टोलीको कप्तानी गोलरक्षक किरण चेम्जोङले नै सम्हाल्नेछन् । प्रशिक्षक कालिनले ४-५-१ को पद्दतिमा नै टोली उतारेका हुन् । अघिल्लो खेलमा सुमनको स्थानमा रंजित धिमाल खेलेका थिए ।

नेपालको लागि यो अन्तिम अवे खेल पनि हो । पहिलो खेलमा कुवेतविरुद्ध ७-० ले पराजित नेपालले दोस्रो खेलमा चाइनिज ताइपेइलाई २(० ले हराएको थियो । पछिल्लो खेलमा नेपाल अष्ट्रेलियासँग ५-० ले पराजित भएको थियो । फाइल फोटो