झापा । प्रथम दमक चुलाचुली कप फुटबल प्रतियोगिता दमकको चुलाचुली खेलमैदानमा बुधबारदेखि सुरु भएको छ । उद्घाटन खेलमा बेलडाँगीको फ्यान्स क्लब बीआरसी विजयी भएको छ ।

दमकको नवकिरण युवा क्लबबीच भएको पहिलो खेलमा गोलरहित बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो । जसमा नवकिरणविरुद्ध फ्यान्स क्लब बीआरसी ३-१ गोलले विजयी भएको हो । प्रतियोगिताको म्यान अफ दी म्याच फ्यान्स क्लब बीआरसीका गोलरक्षक दिपांशु राउत घोषित भए ।

दमक-३ को संयोजनमा आयोजित फुटबल प्रतियोगितामा आज (बिहीबार)को खेल दमकको रोयल स्पोर्टिङ क्लब र कमल गाउँपालिकाको खेलकुद विकास समितिबीच हुनेछ । कात्तिक ९ गते फाइनल हुने प्रतियोगिताको विजेताले नगद ५० हजार र उपविजेताले ३० हजार पाउने खेल संयोजक कुमार गिरीले बताए ।