दमक । झापाको दमक ३ मा जारी प्रथम दमक चुलाचुली कप फुटबल प्रतियोगिताअन्तर्गत बिहीबारको खेलबाट कमल गाउँपालिका खेलकुद विकास समिति विजयी भएको छ ।

रोयल स्पोर्टिङ क्लब दमक-२ लाई ४-० को गोलको फराकिलो अन्तरले हराउँदै कमलले जित हासिल गरेको हो । विजयी टिमका तर्फबाट खेलको २०औं मिनेटमा सन्दिप बस्नेतले गोल गर्दै अग्रता दिलाएका थिए । ३६औं मिनेटमा विक्रम राई र ५६औं मिनेटमा सनम भुजेलले एक-एक गोल गरी अग्रतालाई कायम राखेका थिए ।

खेल संयोजक कुमार गिरीका अनुसार खेलमा रोयलका तर्फबाट आत्मघाती गोलको उपहार कमल गाउँपालिकालाई प्राप्त भएको थियो । खेलको म्यान अफ दि म्याच कमलका सञ्जित राई घोषित भए ।

दमक नगरपालिका वडा नं ३ को वडा कार्यालयको संयोजन र नगरपालिकाको संरक्षकत्वमा जारी प्रतियोगिताको विजेताले नगद ५० हजार ५ रुपैयाँ र उपविजेताले नगद ३० हजार ५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र हात पार्नेछन् । आज शुक्रबार न्यू स्टार युथ क्लब दमक र शान्तिदीप युथ क्लब दमकबीच खेल हुनेछ ।