दमक । झापाको दमक-३ मा जारी प्रथम दमक चुलाचुली कप फुटबल प्रतियोगिताअन्तर्गत आइतबारको खेलबाट फ्यान्स क्लब बीआरसी बेलडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ ।

दमक-७ को सक्रिय युवा क्लबलाई २-१ गोलले पराजित गर्दै फ्यान्सले पहिलो क्वाटरफाइनलबाट अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । खेलमा फ्यान्सका सुमन सुवेदी र राहुल लिम्बूले गोल गरेका थिए । सक्रियका सक्सेश राईले पहिलो गोल गरेर अग्रता दिलाए पनि त्यो अग्रता जोगाउन नसक्दा हार स्वीकार्नु परेको थियो । खेलमा फेन्सका वर्तमान राई म्यान अफ दि म्याच घोषित भए ।

उक्त खेलका प्रमुख अतिथि संविधानसभा सदस्य दिपक कार्कीले दमक-३ स्थित यस खेलकुद मैदानलाई नगरकै नमुना खेलकुद मैदानका रुपमा विकास गर्न आफ्नो तर्फबाट सबै तहका सरकारसंग पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

दमक-३ को वडा कार्यालयको संयोजन तथा नगरपालिकाको संरक्षकत्वमा गत असोज २९ गतेदेखि प्रतियोगिता सञ्चालन भईरहेको छ । कार्तिक ९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा एक दर्जन टिम सहभागी छन् । विजेताले नगद ५० हजार ५ रुपैयाँ र उपविजेताले नगद ३० हजार ५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने खेल संयोजक कुमार गिरीले बताए ।

सोमबारको खेल दमक-५ को गोर्खा स्पोर्टिङ क्लब र कमल गाउँपालिका खेलकुद विकास समितिबीच खेल हुनेछ ।