दमक । झापाको दमक-३ मा जारी प्रथम दमक चुलाचुली कप फुटबल प्रतियोगिताअन्तर्गत दोस्रो क्वाटरफाइनल खेलमा कमल गाउँपालिकाको खेलकुद विकास समितिले स्पष्ट जीत निकालेको छ । दमक-५ को खेलकुद विकास समितिविरुद्ध ३-० गोलको फराकिलो नतिजाबाट कमल गाउँपालिकाले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

कमल गाउँपालिकाको जीतमा विक्रम राईले व्यक्तिगत दुई गोल गरे भने अर्को गोल दिनेश राईको नाममा रह्यो । खेलको म्यान अफ दी म्याच कमलका विक्रम राई घोषित भए । दमक-३ को वडा कार्यालयको संयोजन तथा नगरपालिकाको संरक्षकत्वमा गत असोज २९ गतेदेखि प्रतियोगिता सञ्चालन भईरहेको छ ।

कार्तिक ९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा एक दर्जन टिम सहभागी छन् । विजेताले नगद ५० हजार ५ रुपैयाँ र उपविजेताले नगद ३० हजार ५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने खेल संयोजक कुमार गिरीले बताए । मंगलबार आजको खेल शान्तिदीप युवा क्लव र दमक भाङ्बारी स्र्पोर्टिङ क्लबबीच तेश्रो क्वाटरफाईनल हुनेछ ।