दमक । झापाको दमक-३ मा जारी प्रथम दमक चुलाचुली कप फुटबल प्रतियोगिताको आज हुने पहिलो सेमिफाइनल खेलमा फ्यान्स क्लब अफ बीआरसीले शान्तिदीप युवा क्लबसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

प्रतियोगितामा बुधबार ध्रुवतारा स्पोर्टिङ क्लबले आयोजकलाई पराजित गरेसँगै खेलको सेमी समीकरण पूरा भएको थियो । आयोजकलाई ३-० गोलले पराजित गर्दै दमकले सेमिफाइनल यात्रा तय गरेको हो । ध्रुवताराका सञ्जीव बुढाथोकीले दुई गोल गरे भने सञ्जीव गुरुङले थप एक गोल गरे । खेलको म्यान अफ दी म्याच दमकका सञ्जीव बुढाथोकी घोषित भए ।

दमक-३ को वडा कार्यालयको संयोजन तथा नगरपालिकाको संरक्षकत्वमा गत असोज २९ गतेदेखि प्रतियोगिता सञ्चालन भईरहेको छ । कार्तिक ९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा एक दर्जन टिम सहभागी छन् । विजेताले नगद ५० हजार ५ रुपैयाँ र उपविजेताले नगद ३० हजार ५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने खेल संयोजक कुमार गिरीले बताए ।