झापा । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा आज नेपाली यू-२३ राष्ट्रिय फुटबल टिमले म्यानमारको यू-२२ टिमसँग प्रतिस्पर्धा गर्दैछ । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा रहेको नेपाली टिमले कतारको दोहामा म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । खेल नेपाली समय अनुसार राति ९:१५ मा सुरु हुनेछ ।

नेपाली टिम बलियो म्यानमारलाई हराउने योजनासहित मैदान उत्रने छ । तर, म्यानमारविरुद्ध नेपाल साग टिममा रहेका मुख्य तीन खेलाडीविना मैदान उत्रने छन् ।

टोलीका किरण चेम्जोङ, रोहित चन्द र विमल घर्ति मगर कतार गएका छैनन् । तीनै खेलाडी विदेशमा क्लब फुटबलमा व्यस्त रहेका छन् ।

किरण भारतीय आईलिग टिम मिनेर्वा पन्जाबको टिममा रहेका छन् । यस्तै रोहित इन्डोनेसियाको लिगमा पर्सिजा जकार्तामा रहेका छन् । विमल माल्दिभ्सको क्लब टिसी स्पोर्ट्सको टिममा रहेका छन् ।

नेपालमा हुने १३ औं साग मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं र पोखरामा सञ्चालन हुनेछ ।

नेपाली टिम :

गोलरक्षक : अर्पण कार्की, दिप कार्की, देव लिम्बु

डिफेन्डर : दिनेश राजबंशी, सुमन अर्याल, विकास खवास, अनन्त तामाङ, छिरिङ गुरुङ, रोमन लिम्बु

मिडफिल्डर : हेमन्त थापा मगर, बिक्रम लामा, सुनिल बल, तेज तामाङ, सुजल श्रेष्ठ, नितिन थापा, सेसेहाङ आङ्देम्बे, राम चन्द्र वाजी, अन्जन बिष्ट

स्ट्राइकर : अभिषेक रिजाल, रेजिन सुब्बा, राजिब लोप्चान, प्रिजेन तामाङ, मिक्चेन तामाङ, नवयुग श्रेष्ठ