दमक । झापाको दमक-३ मा जारी प्रथम दमक चुलाचुली कप फुटबल प्रतियोगितामा कमल गाउँपालिकाको खेलकुद विकास समिति फाइनलमा प्रवेश गरेको छ । हिजो भएको दोस्रो सेमिफाइनल खेलमा ध्रुवतारा स्पोर्टिङ क्लबलाई पराजित गरेपछि कमल गाउँपालिकाले फाइनलमा स्थान सुरक्षित गरेको हो ।

कमल गाउँपालिकाले ध्रुवतारालाई ३-१ गोलले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । कमल गाउँपालिकाका लागि विक्रम राईले २ र विनोद गुरुङले गोल गरेका थिए भने ध्रुवताराका लागि सञ्जीव बुढाथोकीले मात्र सान्त्वना गोल गरेका थिए । खेलको म्यान अफ दी म्याच कमल गाउँपालिकाका विक्रम राई घोषित भए ।

आज कमल गाउँपालिकाको खेलकुद विकास समितिले फ्यान्स क्लब अफ बीआरसीसँग फाइनल प्रतिस्पर्धा गर्नेछ । दमक-३ को वडा कार्यालयको संयोजन तथा नगरपालिकाको संरक्षकत्वमा गत असोज २९ गतेदेखि प्रतियोगिता आज समापन हुनेछ ।

विजेताले नगद ५० हजार ५ रुपैयाँ र उपविजेताले नगद ३० हजार ५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने खेल संयोजक कुमार गिरीले बताए ।