सुनसरी । चर्च ब्वाईज युनाइटेड, काठमाडौं शनिबार सम्पन्न चौथो वराह गोल्डकप नकआउट फुटबल प्रतियोगिताको विजेता बनेको छ । उपाधि जित्ने क्रममा चर्च ब्वाईजले एभरेष्ट एफसी, सुनसरीलाई पेनाल्टी शुटआउटमा ४-३ ले हरायो ।

वराहक्षेत्र-२, सुनसरीस्थित आदर्श खेलमैदानमा भएको फाइनल भिडन्ततर्फ नियमित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेलको छिनोफानो पेनाल्टीबाट गरिएको थियो ।

विजेता बनेको चर्च ब्वाईजले उपाधिसहित नगद २ लाख १ हजार हात पार्यो भने उपविजेता एभरेष्टले १ लाख १ हजारमा चित्त बुझायो । त्यस्तै प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी एभरेष्ट एफसीका सुरज बिक घोषित भए । उनले पुरस्कारसहित नगद १० हजार प्राप्त गरे ।

अन्य व्यक्तिगत विधातर्फ पनि चर्च ब्वाईजकै दबदबा कायम रह्यो । उत्कृष्ट गोलरक्षक चर्च ब्वाईजका किशोर गिरी बन्दा उत्कृष्ट डिफेन्डर पनि चर्च ब्वाईजकै अशोक खवास घोषित भए । उत्कृष्ट मिडफिल्डर पनि चर्च ब्वाईजकै कैलाश बस्नेत घोषित भए ।

त्यसैगरी उदयीमान खेलाडी आयोजक वराहक्षेत्र एफसीका रोशन गिरी बने । व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही ७-७ हजार हात पारे । त्यस्तै प्रतियोगिताभरि कुल ३ गोल गरेका एभरेष्ट एफसी निशान लिम्बु उच्च गोलकर्ता बने । उनले पुरस्कारसहित नगद ८ हजार प्राप्त गरे ।

वराहक्षेत्र फुटबल क्लब, सुनसरीको आयोजनामा कार्तिक २ गतेदेखि शुरु प्रतियोगितामा कुल आठ टोलीहरुले सहभागिता जनाएका थिए ।