भरतपुर । विभागीय टोली नेपाल पुलिस क्लबले टुबोर्ग जेसीज विकास रनिङ शिल्ड राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । नारायगढको क्याम्पाचौरमा शनिबार भएको फाइनल घरेलु टोली चितवन-११ लाई टाइब्रेकरमा ४-२ को जित निकाल्दै पुलिसले उपाधि जितेको हो ।

निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेलको नतिजा टाईब्रेकरबाट लिइएको हो । टाइब्रेकरमा चितवनका दुई खेलाडी गोल गर्न चुकेपछि पुलिसको जित सहज बनेको थियो ।

पेनाल्टीमा चितवनका कप्तान रुमेश बर्तौला र अश्विन पाख्रिनको प्रहार सफल भएन । सुधांस महतो र अजय गुरुङको प्रहार भने गोल परिणत भएको थियो । पुलिसका तर्फबाट पेनाल्टी प्रहार गरेका भरत साह, सुमन लामा, अजित भण्डारी र हरि कठायत सबैले गोल गरे ।

जितसँगै पुलिसले उपाधिसहित ६ लाख ६ हजार ६ सय ६६ रुपैयाँ तथा चितवनले ३ लाख ३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गर्यो । प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका पुलिसका मिडफिल्डर रवि पासवान सर्वोत्कृष्ट खेलाडी चुनिए र उनले २५ हजार रुपैयाँ प्राप्त गरे ।

उत्कृष्ट गोलरक्षक बनेका पुलिसका सत्रुधन चौधरी, उत्कृष्ट रक्षक बनेका चितवनका सुधांस महतो, उच्च गोलकर्ताद्वय पुलिसका सुमन लामा र चितवन-११ का रुमेश बर्तौला र अनुशासित टोली घोषित जावलाखेल युथ क्लबले समान १५ हजार रुपैयाँ पाए ।

फाइनलको म्यान अफ दी म्याच पुलिसका रक्षक मानबहादुर विश्वकर्माले १० हजार प्राप्त गरे । गत असोज ३० गतेदेखि सुरु भएको प्रतियोगितामा १० टोलीको सहभातिा थियो ।