बिर्तामोड । अन्नपूर्ण हाम्रो पूर्वाञ्चाल गोल्डकप २०७६ को तयारी अन्तिम चरणमा पुगेको छ । समय अभावले निर्धारित मिति सरे पनि कात्तिक १६ गतेदेखि भने निश्चित भएको आयोजकले जनाएको छ । पछिल्लोपटक आयोजकले आफ्नो टिम पनि गोल्डकपमा समावेश गरेको छ । यसअघि तय गरिएको मिति र खेल तालिकामा आयोजक सहभागी थिएन ।

गोल्डकपको उद्घाटन खेलमा आयोजक र सिक्किम आक्रामक भिड्ने भएका छन् । कात्तिक १६ गतेदेखि २५ गतेसम्म झापाको डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक जायोन स्पोर्ट्स क्लब झापा र भारतीय टिम सिक्किम आक्रामक क्लब भिड्ने भएका हुन् ।

प्रतियोगिताको दोस्रो खेल कात्तिक १७ गते आइतबार झापा ११ एफसी र नेपाल पुलिस क्लबबीच हुनेछ । कात्तिक १८ गते समुह ‘ए’ मा रहेको आयोजक र सिक्किम आक्रामकबीचको बिजेतासँग संकटा फुटबल क्लबले खेल्नेछ । सो खेलबाट बिजयी टोली सेमिफाइनलमा प्रवेश गर्नेछ ।

कात्तिक १९ गते समुह ‘बी’ मा रहेको झापा ११ र नेपाल पुलिसबीचको बिजेतासँग सशस्त्र प्रहरीको एपिएफ क्लबले प्रतिस्पर्धा गर्नेछ । सो खेलमा बिजयी टोलीले फाइनल प्रवेशका लागि गोर्खा ब्वाइज रूपन्देही र थ्री स्टार क्लबबीचको बिजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

कात्तिक २० गते समुह ए मा रहेको भारतको मेलवे आसामले त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । दुई टोलीबीचको विजेता सेमिफाइनलमा प्रवेश गर्नेछ । कात्तिक २१ गते गोर्खा ब्वाइज रुपन्देहीले थ्री स्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाली महिला फुटबल टोलीका प्रशिक्षक हरि खड्का ब्राण्ड एम्बेष्डर रहेको प्रतियोगितको सेमिफाइनल खेल कात्तिक २२ गते र २३ गते हुनेछ । फाइनल खेल भने कात्तिक २५ गते हुनेछ ।

प्रतियोगिताको बिजेताले नगद १२ लाख ५० हजार पुरस्कार र उपबिजेताले ६ लाख २५ हजार पुरस्कार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष भक्त खवासले जानकारी दिए ।