झापा । झापाको बिर्तामोडमा आजदेखि अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप सुरु हुँदैछ । उद्घाटन खेलमा आयोजक जायोन स्पोर्टस क्लब र पाहुना टोली सिक्किम आक्रामक आमनेसामने हुदैछन् ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा दिउँसो २ बजेबाट उद्घाटन समारोह सुरु हुनेछ । प्रतियोगितामा १० टिमले प्रतिस्पर्धा गर्ने भएका छन् । आयोजक जायोन स्पोर्टस क्लब, सिक्किम आक्रामक, संकटा क्लब, मोलवे आसाम, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, झापा ११ एफसी, नेपाल पुलिस क्लब र गोर्खा ब्वाइज रुपन्देही र चर्च ब्वाईजले सहभागिता जनाउने पक्का भएको आयोजक समितीले जनाएको छ ।

प्रतियोगिताका लागि लगभग ५ हजार दर्शक बस्न मिल्ने बाँसको प्यारापिट निर्माण गरिएको आयोजक क्लबका खेल संयोजक अभिनाश राईले जानकारी दिए । उनले १० हजार दर्शकले खेल अवलोकन गर्न सक्ने गरी व्यवस्थापन गरिएको र प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।

नेपाली महिला फुटबल टोलीका प्रशिक्षक हरि खड्कालाई आयोजक क्लबले ब्राण्ड एम्बेसेडर बनाएको छ । प्रतियोगिताको उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट मिडफिल्ड र उदियमान खेलाडीले जनही १५ हजार रुपैंयाँ नगद पुरस्कार पाउनेछन् ।

गोल्डकपको उत्कृष्ट खेलाडीले एउटा मोटरसाइकल प्राप्त गर्नेछ । झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङ र बिर्तामोडका युवाव्यवसायी सजेश सिवाकोटीले उक्त मोटरसाइकल प्रायोजन गरेका हुन् । प्रतियोगिताको विजेताले नगद १२ लाख ५० हजार पुरस्कार र उपविजेताले ६ लाख २५ हजार पुरस्कार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष भक्त खवासले जानकारी दिए ।