झापा । झापाको बिर्तामोडमा जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकपमा उपाधिका दाबेदार दुई टोली झापा ११ र नेपाल पुलिस क्लब आमनेसामने हुदैछन् । खेल दिउँसो २ बजेपछि बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुँदैछ ।

चिरपरिचित प्रतिस्पर्धी यी दुई टोलीबीचको विजयी टोलीले आगामी मंगलबार अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपीएफसँग क्वाटरफाइनल खेल्नुपर्नेछ । प्रतियोगितामा १० टिमले प्रतिस्पर्धा गरिरहेका छन् । यसअघि शनिबार भएको उद्घाटन खेलमा आयोजक जायोन स्पोर्टस क्लबलाई पराजित गर्दै सिक्किम आक्रमन क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

अब संकटा क्लब, मोलवे आसाम, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, झापा ११ एफसी, नेपाल पुलिस क्लब र गोर्खा ब्वाइज रुपन्देही र चर्च ब्वाईजले प्रतिस्पर्धा गर्दैछन् ।

प्रतियोगिताको विजेताले नगद १२ लाख ५० हजार पुरस्कार र उपविजेताले ६ लाख २५ हजार पुरस्कार प्राप्त गर्नेछन् । गोल्डकपको उत्कृष्ट खेलाडीले एउटा मोटरसाइकल प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट मिडफिल्ड र उदियमान खेलाडीले जनही १५ हजार रुपैंयाँ नगद पुरस्कार पाउनेछन् । हरेक खेलको म्यान अफ दि म्याचले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।