0 Shares

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकामा तीन दिने सामुदायिक विपद प्रतिकार्य तालिम प्रयोगात्मक अभ्याससँगै बुधबार सम्पन्न भएको छ ।

सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यले नगरपालिकाको आयोजना र नयाँ श्रीनाथ गण चारआलीको प्राविधिक सहयोगमा तालिम सम्पन्न भएको हो । सोमबारदेखि शुरु भएको तालिममा सहसेनानी सुजित बुढाथोकीलगायतले प्रशिक्षण दिएका थिए । बाढीमा डुबेका मानिसलाई गर्ने उद्दार कला, डोरी, रबर बोट, ट्युव र घरायसी सामग्रीको प्रयोग गरेर पानीमा डुबेका मानिसलाई उद्दार गर्ने कला तालिममा सिकाइएको थियो ।

तालिम समापनको अवसरमा अर्जुनधारा-११ स्थित सालबारीको झिलमा जुनियर रेडक्रस सोसाइटीका सदस्यले प्रयोगात्मक अभ्यास गरेका थिए । उनीहरुले झिलको पानीमा पसेर पौडी खेल्ने, उद्दार गर्ने लगायतका क्रियाकलाप देखाए । तालिममा एक सय जनाभन्दा बढीको सहभागिता रहेको थियो । कार्यक्रम अर्जुनधारा नगरपालिकाका नगरप्रमुख हरिकुमार रानाको अध्यक्षतामा भएको थियो ।

गणका सहसेनानी बुढाथोकीको नेतृत्वमा ४० जना सैनिक टोलीले घरेलु सामग्रीबाट पनि प्राथमिक उद्दारमा प्रयोग गरिने वस्तुको पहिचान, प्रयोग गर्ने तरिका सैद्धान्तिक र प्रयोगात्मकरुपमा प्रदर्शन गरेका थिए ।

सोही अभ्यासका क्रममा स्थानीयबासी तथा जुनियर रेडक्रसमा आवद्ध विद्यार्थीले प्रयोगात्मक अभ्यास पनि गरेका थिए ।