काठमाडौँ । कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबलको दोस्रो चरणको छनोट खेलिरहेको नेपालले आज बिहीबार म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।विश्वकप छनोट अन्तर्गत घरेलु मैदानमा हुने कुवेतसँगको खेल अघि नेपालले म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

कुवेतसँगको खेल नेपालको पहिलो घरेलु खेल समेत हो । म्यानमारसँगको मैत्रीपूर्ण खेललाई नेपालले कुवेतसँगको तयारीको रुपमा लिएको छ । नेपाल र म्यानमारबीचको मैत्रीपूर्ण खेल मन्डला थिरी स्टेडियमा हुनेछ । खेल नेपाली समय अनुसार अपरान्ह ४:१५ बजे सुरु हुनेछ ।

नेपालले बलियो टिम म्यानमारसँग पहिलोपटक मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफा वरियतामा २० स्थान माथिको म्यानमारसँग नेपालले यसअघि एक पटक प्रतिस्पर्धा गरिसकेको छ । तर, मैत्रीपूर्णमा भने यो पहिलो भेट हो ।

नेपालले सन् २००८ मा भएको एएफसी च्यालेन्ज कपमा म्यानमारको सामना गरेको थियो । भारतको हैदराबादमा भएको खेलमा नेपाल म्यानमारसँग ३-० गोल अन्तरले पराजित भएको थियो ।

तर, मैत्रीपूर्णमा घरेलु टिमलाई पराजित गर्दै नेपाल च्यालेन्ज कपको हारको बदला लिने योजनामा हुनेछ । युवा खेलाडीको साथ पाएको नेपाल फिफा वरियतामा आफूभन्दा बलियो म्यानमारलाई उसैको मैदानमा हराउने दाउमा हुनेछ ।

म्यानमारविरुद्धको मैत्रीपूर्णमा नेपालका नियमित दुई सदस्य भने हुने छैन । कप्तान किरण कुमार लिम्बु भारतीय आईलिग मिनेर्वा पञ्जावको प्रिसिजनमा ब्यस्त रहँदा रोहित चन्द इन्डोनेशियाको आई लिगमा ब्यस्त छन् । तर, उनीहरुको अनुपस्थितिमा मिक्छेन तामाङ र सुभाष गुरुङले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका छन् ।

सन् २०२३ मा चीनमा आयोजना हुने एएफसी एसिया कप छनोटको रुपमा समेत हेरिएको विश्वकप छनोटमा नेपाल समूह बी मा रहेको छ । यस्तै म्यानमार समूह एफमा रहेको छ ।

समूह एफमा ३ खेल खेलिसक्दा कुनै अंक जोड्न नसकेको म्यानमारले नोभेम्बर १४ मा मन्डला थिरी रंगशालामा ताजिकिस्तानको सामना गर्दैछ ।

यस अघि म्यानमारले घरेलु मैदानमा भएको पहिलो खेलमा मंगोलियासँग १-० गोल अन्तरले पराजित भएको थियो । दोस्रो खेलमा जापानसँग २-० र तेस्रो खेलमा किर्गीस्तानसँग ७-० को भारी अन्तरले पराजित भएको थियो ।

यता, छनोटको सबै अवे खेल खेलिसकेको नेपालले पहिलो घरेलु खेलमा कुवेतसँग मंसिर ३ गते दशरथ रंगशालामा खेल्नेछ । नेपालले ४ खेलमा ३ अंक जोडेको छ । नेपाल समूहको चौंथो स्थानमा छ ।

यस अघि कुवेतसँग अवे खेलमा नेपाल ७-० को भारी गोल अन्तरले पराजित भएको थियो । दोस्रो खेलमा अन्जन विष्टको दुई गोल मद्दतमा नेपालले चाईनिज ताईपेलाई २-० गोल अन्तरले पराजित गर्यो ।

यस्तै तेस्रो खेलमा एसियाली पावर हाउस अष्ट्रेलियासँग ५-० ले पराजित हुँदा अन्तिम अवे खेलमा नेपाल जोर्डनसँग ३-० गोल अन्तरले पराजित भएको थियो ।

म्यानमारसँगको मैत्रीपूर्ण स्विडिस प्रशिक्षक जोहान कालिनको नेतृत्वमा नेपालको छैटौं मैत्रीपूर्ण हुनेछ । यस अघिका ५ मैत्रीपूर्णमा नेपालले जित निकाल्न सकेको छैन । कुवेत र चाईनिज ताईपेसँग मात्र नेपालले बराबरी खेलेका थियो ।

चैत दोस्रो साता भएको कुवेतविरुद्धको दुई मैत्रीपूर्णमा नेपालले एक खेलमा गोलरहित बराबरी गरेको थियो भने अर्को खेलमा १-० गोलको हार व्यहोरेको थियो ।

यस्तै जेठ दोस्रो साता भएको मैत्रीपूर्ण खेलमा नेपाल मलेसियासँग २-० गोल अन्तरले पराजित भएको थियो । जेठ तेस्रो साता चाईनिज ताईपेसँगको मैत्रीपूर्णमा १-१ को बराबरी खेलेको नेपालले भदौमा मलेसियन लिग च्याम्पियन जोहोर दारुल टाजिमसँग १-० ले पराजित भएको थियो ।