अर्जुनधारा । झापाको अर्जुनधारा-१ सिस्नेस्थित टप्पुमा असोज ८ देखि १७ गतेसम्म आयोजित सहिद टेक-मान स्मृति फुटबल प्रतियोगिताबाट आयोजकले डेढ लाखभन्दा बढी रकम बचत गरेको छ ।

तत्कालिन नेकपा माओवादीले सुरु गरेको सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका अर्जुनधारा-१ स्थित सिस्नेका दुई युवा टेकमान लिम्बू र मानबहादुर राईको स्मृतिमा आयोजित फुटबल प्रतियोगितामा आयोजक शहीद टेक-मान रंगशाला निर्माण तथा व्यवस्थापन समिति र सयपत्री युवा समूहले शनिबार एक कार्यक्रम गरी आय व्यय सार्वजनिक गर्दै त्यस्तो जानकारी दिएको हो ।

आयोजकका अध्यक्ष कृष्ण लोहारको अध्यक्षतामा आयोजित कार्यक्रममा आर्थिक संयोजक तथा आयोजकका सचिव पवन खनालले आय व्यय सार्वजनिक गर्दै एक लाख ६१ हजार २११ रुपैयाँ बचत गर्न सकिएको बताए । उनका अनुसार प्रतियोगिता सम्पन्न गर्न १० लाख ६२ हजार ७४७ रुपैयाँ खर्च भएको थियो । त्यस्तै आम्दानीतर्फ १२ लाख २३ हजार ९५८ रुपैयाँ रहेको छ ।

आयोजकका अध्यक्ष कृष्ण लोहारका अनुसार बचत रकमले खेलमैदानको स्तरोन्नति गर्ने वा अक्षयकोष खडा गरेर अघि बढ्ने भन्ने दुई आयोजक समितिबीच छलफल गरिने भएको छ । आयोजकले दुवै सहिदको शालिक निर्माण गरी सहिद दिवसको अवसरमा उच्च सम्मान प्रकट गर्ने लक्ष्य लिएको अध्यक्ष लोहारले बताए ।

उनका अनुसार सहिद टेक-मान अक्षयकोष स्थापना गरी प्रतिष्ठानको रुपमा विकास गर्ने, खेलमैदानलाई नदी कटानबाट रोक्न पहल गर्ने, रंगशाला निर्माणका लागि क्रमिकरुपमा स्तरोन्नति गर्न सहयोगी संघसंस्थाको शिलालेख तयार गर्ने, बुद्धशान्ति २ का खेलप्रेमीलाई आवतजावत गर्न बिरिङ नदीमा झोलुङ्गे पुल निर्माण गर्न पहल गर्ने, प्रत्येक वर्ष फुटबल प्रतियोगिता आयोजना गर्ने आयोजकको उद्देश्य रहेको छ ।

त्यस्तै, स्थानीय युवालाई खेलकुदप्रति आकर्षित गराइ खेलकुद प्रतिष्ठान सञ्चालन गरी खेलाडी उत्पादन गर्ने र विभिन्न खेलकुदको माध्यमबाट युवाहरुलाई लागुऔषध दुव्र्यसनीबाट अलग राख्न आयोजकले मुख्य उद्देश्य लिएको अध्यक्ष लोहारले बताए ।