झापा । विभागीय टोली त्रिभुवन आर्मी क्लब र चर्च ब्वाइज युनाइटेड झापाको बिर्तामोडमा जारी अन्नपूर्ण हाम्रो पुर्वाञ्चल गोल्डकपको उपाधिका लागि आज फाइनल खेल खेल्दैछन् । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा दिउँसो २ बजेपछि हुने प्रतिस्पर्धाबाट दुवै टोली सिजनकै पहिलो उपाधि रक्षा गर्ने दाउमा छन् ।
आर्मी र चर्च ब्वाइज दोस्रो पटक आमनेसामने हुँदैछन् । यो भन्दा अघि दुहबी गोल्डकपको प्रतिस्पर्धामा आर्मीले चर्च ब्वाइजलाई पराजित गरेको थियो । यद्धपी जारी प्रतियोगिताको फाइनल खेलमा दुवै टोलीले उपाधि रक्षा गर्ने दाबी गरेका छन् । आफ्नो पहिलो खेलमा पाहुना टोली भारतको मोलवे एफसी असामलाई २-० गोलले पराजित गरेको आर्मीले सेमिफाइनल खेलमा भारतकै आक्रमण एफसी सिक्किममा पराजित गरेको थियो । आर्मीले सिक्किमसँग निर्धारित समय गोलरहित बराबरी खेलेर टाइब्रेकरमा कठिन जीत निकालेर फाइनल यात्रा तय गरेको टोली हो ।

राम्रो टिमलाई पराजित गरेर आएपछि आर्मीका खेलाडीको मनोबल उच्च रहेको प्रशिक्षक नविन न्यौपानले बताए । फाइनल खेलमा आफ्ना नयाँ खेलाडीको अनुभव नभएकाले यसअघि गरिएको गल्ती सच्याएर उपाधि रक्षा गर्ने उनको दाबी छ । स्ट्राइकरको कमी र फिनिसिङ हुन नसकेको कमजोरी स्वीकार्दै उनले भने, ‘हाम्रा मिस्टेक सुधारेर ९० मिनेटभित्रै नतिजा आफ्नो पक्षमा पार्ने दाउ छ ।’ नियमित खेलाडी राष्ट्रिय टोलीको क्याम्पमा, साग र यु १९ मा रहेको बताउँदै चर्च ब्वाइजको कमजोरीको फाइदा उठाएर जीत निकाल्ने उनले दाबी गरेका छन् ।
राम्रो टिमलाई पराजित गरेर फाइनलमा आएको चर्च ब्वाइजलाई कम आँक्न नमिल्ने बताएका उनले युवा खेलाडीले भरिएको चर्च ब्वाइजको सट पास खेल्ने कलालाई मार्क गरेको बताए । आर्मीका कप्तान टेकबहादुर बुढाथोकीले चर्च ब्वाइजको प्लानिङलाई ब्रेक गरेर सिजनको पहिलो उपाधि रक्षा गर्ने रणनीतिका साथ मैदान उत्रने सुनाए । आर्मीले यस रंगशालामा तीन पटक झापा गोल्डकपको उपाधि जितिसकेको छ भने यो चौथो पटक फाइनल भिडन्त हो ।
यसैगरी चर्च ब्वाइजका प्रशिक्षक रुवेन राईले नेपालकै राम्रो टिम आर्मीसँग फाइनल खेल्न पाउनु ठुलै अवसरका रुपमा लिएको बताए । उनले भने, ‘यो संयोगमात्र होइन, दुर्लभ भेट पनि हो ।’ आर्मीका नियमित तथा सिनियर खेलाडीको अभावले चर्च ब्वाइजले अवसरको रुपमा नलिने बताएका उनले आर्मीको खेलअनुसार रणनीति बनाउने सुनाए । खेलमा हार जीत स्वाभाविक ठानेका उनले ९० मिनेटभित्र जसले मिहेनत गर्छ उसैले उपाधि उचाल्ने पनि बताए ।

राष्ट्रिय लिगको सी डिभिजनमा भर्खरै उक्लिएको चर्च ब्वाइज फाइनल जीतका लागि शतप्रतिशत मिहेनत गर्ने दाबी उनको छ । चर्च ब्वाइजले अर्को विभागी टोली नेपाल पुलिस क्लबलाई सेमिफाइनलमा १-० गोलले पाखा लगाउँदै फाइनल यात्रा तय गरेको थियो भने पहिलो खेलमा गोर्खा ब्वाइज स्पोर्टस् क्लब बुटबललाई टाइब्रेकरमा पराजित गरेको थियो ।
जायोन स्पोर्टस् क्लब बिर्तामोडले आयोजना गरेको प्रतियोगिताको विजेताले नगद १२ लाख ५० हजार र उपविजेता टोलीले ६ लाख २५ हजार रुपैयाँसहित ट्रफी पाउनेछ ।