काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) लक्षित मिडिया वर्कसप आज सकिँदैछ । राष्ट्रिय खेलकुद परिषद (राखेप)को सहकार्यमा नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको दुई दिने मिडिया वर्कसपको युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले उद्घाटन गरेका थिए ।

आसन्न सागका लागि समाचार संकलन र लेखन कार्यलाई सहयोग पु¥याउने उद्देश्यले मिडिया वर्कसप मंगलबारदेखि आयोजना गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले साग आयोजना सुनिश्चित भएसँगै यसलाई सफल बनाउनु सबैको जिम्मेवारी र दायित्व रहेको बताउनुभयो । उहाँले निर्धारित समयमै पूर्वाधारलगायतका सम्पूर्ण तयारी सकिने भएकाले सागले भव्यसँग सफल पार्न आआफ्नो ठाउँबाट लाग्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले मिडिया वर्कसपले प्रतियोगितालाई भव्य र व्यापक बनाउन सहयोग पु¥याउने धारणा राख्नुभयो । उहाँले यस्ता वर्कसपबाट प्रतियोगिताको समाचार संकलनका लागि प्राविधिक ज्ञान हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो ।

राखेप सदस्य-सचिव रमेशकुमार सिलवालले साग आयोजना र सञ्चालनको तयारीका विषयबारे जानकारी गराउनुभयो । उहाँले तयारीका अधिकांश काम अन्तिम चरणमा पुगेको जानकारी कार्यक्रममा गराउनुभएको थियो । उहाँले राष्ट्रिय टिमको तयारी निकै राम्रोसँग अघि बढेको जानकारी दिँदै सहभागिताको हिसाबले राम्रो नतिजा ल्याउने विश्वास दिलाउनुभएको थियो ।

सदस्यसचिवले क्रिकेटमा भारत र पाकिस्तानलाई समेत सहभागी गराउने प्रयास भइरहेको भन्दै प्याराग्लाइडिङको खेलको सहभागिता अन्योल कायमै रहेको जानकारी गराउनुभयो । नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले साग लक्षित गरेर खेल पत्रकारको सीप विकासका लागि कार्यक्रम आयोजना गरिएको उल्लेख गर्नुभयो ।

कार्यक्रमको पहिलो दिन सिनियर खेल पत्रकार राजु सिलवाल, द हिमालयनका सम्पादक प्रकाश रिमाल, फोटो पत्रकार विकास कार्की र विभिन्न खेल संघका प्रतिनिधिले साग खेलकुद लक्षित गरेर प्रशिक्षण दिनुभएको थियो ।

मिडिया वर्कसपमा १३ जिल्लाका झन्डै १ सय ४० जना पत्रकार सहभागी छन् ।