काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले अनुभवी फरवार्ड भरत खवासलाई समेट्दै शुक्रबार फिफा विश्वकप छनोटअन्तर्गत कुवेतविरुद्धको होम खेलका लागि २३ सदस्यीय टोलीको घोषणा गरेका छन्।

नियमित राष्ट्रिय टोलीमा स्थान बनाउँदै आएका भरत खवासलाई मुख्य प्रशिक्षक कालिनले गत जेठमा सम्पन्न मलेसिया र चाइनिज ताइपेईविरुद्धको खेलमा आराम दिएका थिए। त्यसयता भरत टोलीमा पर्न सकेका थिएनन्। तर, फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०१३ छनोट प्रतियोगिताअन्र्तगत दोस्रो चरणको कुवेतविरुद्धको होम खेलमा प्रशिक्षक कालिनले भरतलाई टोलीमा बोलाएका हुन्।

कात्तिक २१ म्यान्मारविरुद्धको मैत्रीपूर्ण खेलमा पनि कालिनले भरतलाई मौका दिएका थिए। तर, भरतले उक्त खेलमा पूरा समय मैदानमा बिताएनन् । प्रशिक्षक कालिनले ४ फरवार्डलाई टोलीमा समावेश गरेका छन्। भरत, नवयुग श्रेष्ठ, विमल घर्तिमगर र अभिशेक रिजालले नेपालको अग्रपंक्ति सम्हाल्नेछन्।

मंसिर ३ गते हुने खेल नेपालकै दशरथ रंगशालामा हुने तय भएको थियो। तर, कुवेतले पूननिर्माणको चरणमा रहेको दशरथ रंगशालामा खेल्न नसक्ने भन्दै एएफसीमा निवेदन दिएको थियो। एएफसीले पनि रंगशाला खेल्नका लागि तयार भइनसकेको ठहर गर्दै नेपाललाई तटस्थ मैदान खोज्न आग्रह गरेको थियो।

त्यसपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले भुटानलाई तटस्थ मैदानका रूपमा छनोट गरेको थियो। अब नेपालले कुवेत विरुद्धको होम खेल भुटानको थिम्पुस्थित चाम्लिमिथाङ रंगशालामा खेल्नेछ।

दोस्रो चरणको छनोट प्रतियोगिताअन्तर्गत नेपालले कुवेतविरुद्धको अवे खेलमा ७-० को नतिजा सुम्पिएको थियो। त्यसपछि चाइनिज ताइपेइलाई २-० ले हराएको नेपालले बलियो प्रतिद्वन्द्वी अस्ट्रेलियासँग ५-० ले पराजित भएको थियो। त्यस्तै जोर्डनविरुद्धको अवे खेलमा पनि नेपाल ३-० ले पराजित भएको थियो।

मुख्य प्रशिक्षक कालिनले मिडफिल्डरमा मिक्छेन तामाङलाई पनि टोलीमा समावेश गरेका छन्। मिक्छेन तामाङ म्यान्मारविरुद्धको मैत्रीपूर्ण खेलमा पहिलो पटक राष्ट्रिय टोलीमा परेका थिए। मिक्छेनको राष्ट्रिय टोलीबाट पहिलो आधिकारिक प्रतियोगिता हुनेछ।

मिडफिल्डमा मिक्छेनसहित सुनिल बल, अञ्जन विष्ट, विक्रम लामा, रवि पासवान, रोहित चन्द, सुजल श्रेष्ठ, सन्तोष तामाङ र तेज गुरुङ छन्। रक्षापंक्तिमा सरोज दहाल, देवेन्द्र तामाङ, अनन्त तामाङ, सुमन अर्याल, दिनेश राजवंशी, अजित भन्डारी र रञ्जित धिमाल छन्। नेपालको गोलपोष्ट सम्हाल्नेमा किरण चेम्जोङ, विकेश कुथु र विशाल श्रेष्ठ छन्।

चार खेल सकिँदा अस्ट्रेलिया १२ अंकका साथ शीर्ष स्थानमा छ भने समान ७ अंक जोडेको कुवेत र जोर्डन क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। तेस्रो स्थानमा रहेको नेपालसँग ३ अंक छ। चाइनिज ताइपेईले अंक जोड्न सकेको छैन। (फाइल फोटो)

नेपाल टिम
गोलकिपरः किरण चेम्जोङ, विकेश कुथु र विशाल श्रेष्ठ
रक्षापंक्तिः सरोज दाहाल, देवेन्द्र तामाङ, अनन्त तामाङ, सुमन अर्याल, दिनेश राजवंशी, अजित भन्डारी र रञ्जित धिमाल

मिडफिल्डः सुनिल बल, अञ्जन विष्ट, बिक्रम लामा, रवि पासवान, रोहित चन्द, सुजल श्रेष्ठ, सन्तोष तामाङ, मिक्छेन तामाङ र तेज गुरुङ

फरवार्डः भरत खवास, नवयुग श्रेष्ठ, विमल घर्तिमगर र अभिशेक रिजाल ।