बिर्तामोड । सहारा सूर्योदय एक्स्टेम्पर स्पिच कन्टेस्ट २०७६ को उपाधि झापाको कन्काई नगरपालिका ४ सुरुङ्गामा रहेको मेरी गोल्ड अंग्रेजी माध्यमिक विद्यालयका बेदान्त तिम्सिनाले जितेका छन् । सूर्योदय टेलिभिजनले आयोजना गरेको यस प्रतियोगिताको उपाधि कक्षा १० मा अध्ययनरत तिम्सिनाले जितेका हुन् ।

शुक्रबार भएको फाइलल प्रतियोगितामा भद्रपुर नगरपालिका २ मा रहेको ज्ञानसरोवर माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत रीना घिमिरे दोश्रो, अर्जुनधारा नगरपालिका ६ मा रहेको लक्ष्मी माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्यनरत निलिमा लिम्बू तेश्रो भएकी छिन् । यस्तै अर्जुनधारा नगरपालिका ७ को रुपरत्न मेमोरियल अंग्रेजी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्रा चर्चिता लुइँटेल र अर्जुनधारा नगरपालिका ५ मा रहेको देवभूमि विद्यालयको कक्षा ९ मा अध्ययनरत छात्रा दिक्षा भट्टराईले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।

प्रतियोगिताको विजेताले नगद ३० हजारका साथै ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । त्यसैगरी दोश्रो, तेश्रो र सान्तवना हुनेले क्रमशः १५ हजार, १० हजार र ४-४ हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगिताका विजेताहरुलाई सूर्योदय टेलिभिजनका अध्यक्ष मनोज उप्रेती, प्रवन्ध निर्देशक विष्णु मैनाली उप्रेती, सहारा नेपाल साकोसका कार्यकारी निर्देशक महेन्द्र गिरी, कार्यक्रमका प्रमुख अतिथि प्राडा पृथ्वी विक्रम राई लगायतले पुरस्कार प्रदान गरेका थिए ।

प्रतियोगिताको निर्णायकमा असोसिएट प्रोफेसर तथा सञ्चारकर्मी शिरोमणि खतिवडा ‘सिरो सान्दाई, बीबीसी नेपाली सेवाका सम्वाददाता उमाकान्त खनाल र मेची बहुमुखी क्याम्पस भद्रपुरकी अध्यापक गायत्रा सुवेदी रहेकी थिइन् ।

प्रदेश नम्बर १ का झापा, मोरङ र इलामका शिक्षा प्रमुखको सल्लाह, सुझाव र सिफारिसका आधारमा निजी र सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई सहारा सूर्योदय एक्स्टेम्पर स्पिच कन्टेस्टमा सहभागी गराइएको सूर्योदय टेलिभिजनकी प्रवन्ध निर्देशक बिष्णु मैनाली उप्रेतीले बताइन् ।

गत भदौदेखि शुरु प्रतियोगितामा ७० वटा विद्यालयका १३० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रतिस्पर्धीमा रहेको विषयवस्तु, भाषाको ज्ञान र प्रस्तुतिकरणका आधारमा विजेता छनोट गरिएको प्रतियोगिताका संयोजक देवी गौतमले जानकारी दिए ।

सहारा नेपाल साकोसको मुख्य प्रायोजनमा सम्पन्न प्रतियोगिताको सिजन–२ आगामी वैशाखबाट शुरु गरिने टेलिभिजनले जनाएको छ ।