काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका पहिलो रोजाइका चार खेलाडीबिनै अखिल नेपाल फुटबल संघ (एन्फा)ले विश्वकप २०२२ को छनोटमा कुवेत विरुद्ध प्रतिस्पर्धा गर्न शनिबार राष्ट्रिय टोली भुटान पठाएको छ ।

विमल घर्तीमगरसहित राष्ट्रिय फुटबल टोलीका चार खेलाडी अनुशासनको कारवाहीमा परेपछि पहिलो रोजाइका फरवार्ड, मिडफिल्ड र डिफेन्डर हुने छैनन् । जसका कारण कुवेतसँग मंसिर ३ गते भुटानमा हुने खेल यी चार खेलाडीले गुमाउने छन् । विमलसहित कारवाही पर्नेमा अन्जन विष्ट, सन्तोष तामाङ र दीनेश राजवंशी रहेका छन् ।

यी चार खेलाडी शुक्रबार राति २ बजेसम्म ठमेलको डिस्कोमा रहेका कारण टोलीका मुख्य प्रशिक्षक योहान कालिनसँगको सल्लाहपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले चार खेलाडीलाई कारवाही गरेको हो । एन्फाका प्रवक्ता किरण राईले कारबाही गर्नुपर्ने कारण नबताए पनि अनुशासनको कारण अहिले भुटान भ्रमणबाट यी चार खेलाडीलाई हटाइएइको छ । उनीहरुको ठाँउमा चार खेलाडी राखिने पनि उनले जानकारी दिए ।

राष्ट्रिय फुटबल टोली आज दिउँसो ३ बजे भुटान प्रस्थान गरेको छ । विश्वकप छनोटमा नेपालले ४ खेल खेलिसकेको छ । जसमा ३ खेल गुमाएको नेपालले १ खेल मात्र जितेको छ । चाइनिज ताइपेविरुद्धको एकमात्र जितमा नेपालका लागि दुवै गोल अन्जनले नै गरेका थिए । त्यसबाहेकका खेलमा भने नेपालले कुवेतसँग ७-०, अष्ट्रेलिया ५-० र जोर्डनसँग ३-० ले पराजित भएको थियो ।

भुटानमा मंसिर ३ कुवेतविरुद्ध हुने खेल नेपालको होम म्याच हो । दशरथ रंगशाला पूनर्निर्माणको काम नसकेपछि एएफसीले त्यहाँ खेल हुन नसक्ने निर्णय गरेको थियो । त्यसपछि एन्फाले भुटानलाई न्युट्रल भेन्यूको प्रस्ताव गरेको थियो । कुवेत टोली भने शुक्रबार नै भुटान पुगिसकेको छ ।