काठमाडौं । शनिबार बिहानै अखिल नेपाल फुटबल संघ (एन्फा) ले एक अप्रिय निर्णय गर्यो । स्टार फरवार्ड विमल घर्तिमगर सहित चार खेलाडीलाई कारबाही गर्दै राष्ट्रिय टिमबाट निकाल्यो ।

अर्थात, विश्वकप छनोट अन्तर्गत कुवेतसँग खेल्न भुटान जाने टिमबाट चार खेलाडी निकालिए । कारबाही भोग्ने खेलाडीमा विमल सहित अन्जन विष्ट, सन्तोष तामाङ र दिनेश राजवंशी छन् ।

कारण, चारै जना खेलाडीले रातको समय नाईट क्लबमा बिताएका थिए, रक्सी पिएका थिए । ठमेलका धेरै क्लब डुलेर रात कटाएका थिए । रक्सीको नशा उत्रन नपाउँदै चारै खेलाडी बिहान बिदाई कार्यक्रममा सहभागी हुन एन्फा पुगेका थिए ।

चारै खेलाडीलाई मुख्य प्रशिक्षक योहान कालिनले बोलाएर सोधपुछ गरे । चारै खेलाडी रक्सीले गन्हाएका थिए । चारै खेलाडीले रातको समय क्लबमा बिताएको स्विकारे ।

खेलाडीको मुख र शरिरबाट निस्किएको रक्सीको गन्ध त्यसकै प्रमाण थियो । उनीहरुको अनुहार र शरिरमा चोट लागेको थियो । रातको समयमा वाईक दुर्घटना भएको उनीहरुले बताए ।

त्यसो त प्रशिक्षक कालिनले खेलाडीले रातको समयमा एन्फा होस्टेल छोडेको पहिल्यै थाहा पाईसकेका थिए । उनले एन्फा पदाधिकारीसंग छलफल गरे । अन्तत चार जना खेलाडीलाई तत्काल बाहिर राख्दै बाँकी टिम भुटान उड्यो । चार जना खेलाडी तत्काल टिमबाट बाहिर निकालिए ।

यसअघि एन्फाले खेलाडीलाई गल्तीलाई लुकाउने भुमिका खेल्ने गरेको थियो । खेलाडीलाई अनुशासनको दायरामा राख्न नसक्दा नेतृत्वको बारम्बार आलोचना समेत हुने गरेको थियो । तर यसपटक एन्फाले चारै खेलाडीलाई टिम बाहिर राख्ने निर्णय थियो ।

यसअघि समेत विमल घर्तिमगर, अन्जन विष्ट, विशाल राई र हेमन्त थापा मगर लगायतका खेलाडी राष्ट्रिय टिममा रहेको समय रातको समयमा नाईट क्लबमा भेटिएका थिए ।

रक्सीले मातिएर रातको समयमा एन्फा पुगेर गेटमा लात्ति बजारेको भिडियो फुटेज एन्फासंग अझै सुरक्षित नै छ ।

तर तत्कालिन समय एन्फाले खेलाडीलाई जोगाउँदै कारबाही गर्नुपर्ने सबै खेलाडीलाई एसियन गेम्सको छनोट खेल्न पठाएको थियो ।

तर यसपटक एन्फा कठोर देखियो ।

आखिर किन त ?

यसको खास कारण छन् ।

टिम शनिबार भुटान जाने पक्का थियो ।

तर अघिल्लो दिन रातको समयमा खेलाडीहरु ठमेल र दरबारमार्गको नाईट क्लबमा भेटिए ।

देशलाई विश्वकप छनोटमा अघि बढाउने जिम्मेवारी पाएका खेलाडीले किन राष्ट्रप्रति गद्वार गरे ?

होस्टेल छाडेर अनुमती बिना ठमेल र दरमार्गमा किन समय बिताए ?

घरेलु फुटबलको सर्वोच्च निकाय एन्फाले यस घटनालाई सामान्य रुपमा हेरेको छैन ।

भुटान जाने अघिल्लो दिन खेलाडी रातको समयमा हराउनुलाई एन्फाले कुवेतसंगको खेलसंग जोडेर अनुसन्धान गर्ने भएको छ ।

अर्थात एन्फाले खेलाडीहरु रातको समयमा बाहिर रहनुलाई कुवेतविरुद्धको खेलमा सेटिङ भएको हुन सक्ने आशंका गरेको छ ।

घटनालाई प्राथमिकतामा राख्दै एन्फाले यसको शुष्म अनुसन्धान अघि बढाउने भएको छ ।

स्रोतका अनुसार विश्वकप छनोटको महत्वपुर्ण खेलको अगाडी रातको समयमा टिमका महत्वपुर्ण खेलाडी नाईट क्लबमा भेटिनुलाई निकै शंकास्पद रुपमा हेरिएको छ ।

सोही कारण मुख्य चार खेलाडीलाई टिम बाहिर राख्दै एन्फाले घटनाको थप अनुसन्धान अघि बढाउने निष्कर्शमा पुगेको हो ।

‘रातको समय खेलाडी बाहिर रहनुले धेरै शंका गर्ने ठाउँ दिएको छ । कुवेतसंगको म्याच अगाडी केही छ कि भन्ने देखिन्छ’, एन्फा स्रोतले भन्यो, ‘सोही कारण खेलाडीलाई टिम बाहिर राख्दै थप अनुसन्धान अघि बढाउने निर्णयमा पुगेका छौ ।’

नेपालले पहिलो लेगको खेल कुवेतको घरेलु मैदानमा खेलेको थियो । सो खेल नेपालले ७-० ले गुमाएको थियो । त्यसको ६ महिना अघि मात्र नेपालले कुवेतसंग दुई वटा मैत्रीपूर्ण फुटबल खेलेको थियो ।

पहिलो खेल गोलरहित बराबरीमा खेलेको नेपालले दोस्रो खेल १-० ले गुमाएको थियो । त्यो गोल समेत पेनाल्टीमा सम्भव भएको थियो ।

तर त्यसको ६ महिनापछि खेल्दा नेपालको ७-० को हारले धेरै प्रश्न उब्जाएको थियो । स्वयम एएफसीले समेत सो खेलको सुष्म तरिकाले अनुसन्धान गरिरहेको छ ।

सो खेलको नतिजालाई लिएर मुख्य प्रशिक्षक कालिन आफै स्तब्ध थिए । सो खेलमा केही खेलाडीका हर्कतहरु अस्वभाविक देखिएको एएफसीको शंका छ ।

खेलको कुनै पनि समय सम्हालिन नसकेको नेपालको प्रर्दशन साच्चिकै बिर्सनलायक थियो ।

तर त्यसको पाँच दिनपछि चाईनिज ताईपेको घरेलु मैदानमा नेपालले शानदार नतिजा निकाल्यो । सो खेल नेपालले २-० ले जितेको थियो । दुवै गोल अन्जन विष्टले गरेका थिए ।

कुवेतविरुद्वको पहिलो लेगको खेलमा अस्वभाविक नतिजा निस्कनु र दोस्रो लेगको खेल अगाडी रातको समयमा खेलाडी हराउनुलाई संगसंगै जोडिएर हेरिएको छ ।

सोही कारण कालिनले टिमका मुख्य चार खेलाडीलाई बाहिर राख्ने जोखिम लिएको एन्फाका एक अधिकारी बताउँछन् ।

पछिल्लो समय राष्ट्रिय फुटबल टिमको प्रर्दशनमा एकरुपता छैन । हरेक खेलमा केही खेलाडीको प्रर्दशन समेत फरक देखिन थालेको छ । सोही नतिजाले एन्फालाई चिन्तित बनाएको छ ।

नाईट क्लबमा खेलाडी भेटिएको घटनाको अनुसन्धान प्रक्रिया अघि बढाएर एन्फाले राष्ट्रिय टिमबाट हटाईएका खेलाडीलाई थप कारबाहीको तयारी गरेको छ ।

कारबाहीमा परेका खेलाडीमा विमल फरवार्ड, दिनेश डिफेन्डर र अन्जन, सन्तोष मिडफिल्डर पोजिसनबाट खेल्ने गर्छन् । खेलपाटीबाट