काठमाडौँ । विश्वकप छनोट र एसिया कप छनोटअन्तर्गत कुवेतविरुद्धको महत्त्वपूर्ण खेलअघि अनुशासनको कारबाहीमा परेका नेपाली राष्ट्रिय फुटबल टोलीका चार मुख्य खेलाडी बारे थप निर्णय गर्न एन्फाले काठमाडौंमा उपलब्ध पदाधिकारीहरुलाई अनौपचारिक छलफलका लागि बोलाएको छ ।

उक्त छलफलमा अनुशासन कमिटी तथा इन्टिग्रिटी कमिटीका सदस्यहरुलाई पनि बोलाइएको एन्फाका महासचिव इन्द्रमान तुलाधरले बताए । शनिबार बिहान सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भुटानमा हुने खेलका लागि टिम बिदाइ भइसकेपछि एन्फाको आकस्मिक बैठकले मुख्य स्ट्राइकर विमल घर्तीमगर, मिडफिल्डर अन्जन विष्ट र सन्तोष तामाङ तथा डिफेन्डर दिनेश राजवंशी गरी ४ खेलाडीलाई कारबाही गर्ने निर्णय गरेको थियो । ती चार खेलाडीलाई फूलमालाको बिदाइपछि टिमबाट बर्खास्तगीको सूचना दिइएको थियो । उनीहरू भुटान जान पाएनन् ।

‘उनीहरु शुक्रबार राति बाहिर गएपछि होस्टेल फर्किएका छैनन्’, तुलाधरले भने, ‘उनीहरु फर्किएको खण्डमा के गर्ने भन्नेबारे छलफल गर्न लागिएको हो । हामी खेलाडीको भविष्य र नेपाली फुटबलको भविष्यका लागि गम्भिर छौं । तर त्यसको मतलब अनुशासन कारबाही नै हुँदैन भन्ने होइन ।’

अखिल नेपाल फुटबल संघ (एन्फा)ले बन्द प्रशिक्षणमा रहेका चार खेलाडी शुक्रबार राति २ बजेसम्म ठमेलका विभिन्न क्लबमा रहेको पाइएकाले कारबाही गरिएको एन्फाले जनाएको छ।

उनीहरू क्याम्पबाट भागेर नाइट क्लबमा गएको प्रमाणित भएपछि काठमाडौंमा उपलब्ध एन्फा पदाधिकारीको आकस्मिक बैठकले प्रशिक्षक योहान कालिनसँगको छलफलपछि कम्तीमा कुवेतसँगको खेलमा टिमबाहिर राख्ने निर्णय भएको हो । अध्यक्ष नेपाल फर्केपछि एन्फाको बैठकले उनीहरूको थप कारबाहीबारे निर्णय गर्ने एन्फाले बताएको छ । अध्यक्ष कर्माछिरिङ शेर्पा अहिले भुटानमै छन्।

चार खेलाडी कारबाहीमा परेपछि २० सदस्यीय टिम भुटान पुगेको छ । राष्ट्रिय टिमको क्याम्पमा परे पनि अन्तिम टिममा नपरेका सुवास गुरुङलाई टिममा बोलाइएको छ ।

नेपालले विश्वकप छनोटमा कुवेतविरुद्ध थिम्पुमा मंगलबार प्रतिस्पर्धा गर्दैछ । दशरथ रंगशाला अन्तर्राष्ट्रिय मापदण्डको नभएको भन्दै एसियाली फुटबल महासंघले जनाएपछि नेपालले घरेलु खेल भुटानमा खेल्नुपरेको कान्तिपुरमा समाचार छ ।