अर्जुनधारा । झापाको अर्जुनधारा-४ स्थित रातेखालमा जापानको आकियो स्मृति सदनको आर्थिक सहयोग तथा घनश्याम स्मृति प्रतिष्ठान चन्द्रगढीको समन्वयमा ४ कोठे भवन निर्माण भएको छ ।

जापानी नागरिक आकियोको स्मृतिमा उनका दाजुहरु कोतारो इनोउए र योसिरो इनोउएले निर्माण गरिदिएको उक्त भवनको सोमबार उद्घाटन गरिएको छ । भाइ आकियोको शिक्षामा गुणस्तर होस् भन्ने इच्छा भएको तर अल्पायूमै निधन भएपछि भाइको इच्छाअनुसार विभिन्न मुलुकमा विद्यालय भवन निर्माण गरिन थालेको बताइएको छ ।

नवदुर्गा आधरभूत बिद्यालय हातामा ४९ लाख रुपैयाँको लागतमा निर्माण भएको भवन ५ महिनाको अवधिमा सम्पन्न भएको थियो । सोही उद्घाटन कार्यक्रममा निर्माण दाताले विद्यालयलाई भवन हस्तान्तरण गरेको छ ।

नवदुर्गा आधरभूत बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपेन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा अर्जुनधारा नगरपालिका प्रमुख हरिकुमार राना, प्रमुख प्रशासकीय अधिकृत पंकज भुर्तेललगायतको उपस्थिति रहेको थियो । स्वागत बिद्यालयका प्रधानाध्यापक रुद्रप्रसाद खतिवडाले गरेको कार्यक्रमलाई शिक्षक तोयानाथ ओलीले सञ्चालन गरेका थिए ।