झापा। कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत नेपालले आज (मंगलबार) कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । नेपालले पहिलो घरेलु खेलको रुपमा कुवेतसँग भुटानको थिम्पुमा खेल्न लागेको हो ।

नेपालको दशरथ रंगशाला अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नबनेपछि खेल न्युट्रल भेन्युको रुपमा भुटानमा सारिएको हो । थिम्पुस्थित चाङ्लिमिथाङ रंगशाला खेल नेपाली समय अनुसार पौने ३ बजे सुरु हुनेछ ।

बलियो कुवेतविरुद्ध मैदान उत्रदा नेपाली टिम कम्तिमा अंक खोस्ने योजनामा हुनेछ । त्यसका लागि आफ्नो टिम तयार रहेको मुख्य प्रशिक्षक योहान कालिनले बताएका छन् । ‘हामी अघिल्ला खेलभन्दा उत्कृष्ट प्रदर्शनको लक्ष्यमा रहेका छौँ’, कुवेतसँगको खेलअघि प्रि म्याच कन्फरेन्समा प्रशिक्षक कालिनले भने, ‘कुवेतले राम्रो गरिरहेको छ । तर, हामी आत्मविश्वासी छौँ ।’

यस्तै प्रशिक्षक कालिनले कुवेतसँगको खेल निकै महत्वपूर्ण रहेको समेत स्पष्ट पारे । ‘यस खेल हाम्रो लागि महत्वपूर्ण रहेको छ । हामी कुवेतसँग प्रतिस्पर्धा गर्न तयार छौँ । मैले खेलाडीमा फोकस गरेका छौँ । खेलाडी प्रतिस्पर्धाका लागि राम्रो मुडमा छन्’, कालिनले थपे ।

यस अघि कुवेतसँगको अवे खेलमा नेपालले ७-० को हार व्यहोरेको थियो । तर, भुटानमा नेपाल त्यस हारलाई बिर्साउने प्रदर्शन गर्न चाहन्छ ।

छनोटको समूह ‘बी’ मा नेपाल समूहको चौंथो स्थानमा छ । छनोटको सबै अवे खेल खेलिसकेको नेपालले ४ खेलमा ३ अंक जोडेको छ । कुवेत ७ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । यस्तै कुवेतका मुख्य प्रशिक्षक थामर इनाडले नेपालविरुद्ध ३ अंकको लागि मैदान उत्रने बताए ।

‘आशा छ हामी राम्रो खेल्ने छौँ र ३ अंक पाउने छौँ’, प्रशिक्षक थामरले भने, ‘हामीले नेपाललाई सहज लिएका छैनौँ । नेपाल कमजोर टिम हैन ।’ कुवेतसंग पहिलो लेगमा ब्यहोरेको फराकिलो हारको बदला लिने अवसर नेपाललाई छ । कुवेतले खाडीको हावापानी र मौसमको फाईदा लिदै पहिलो लेगमा ७-० को जित निकालेको थियो ।

अब नेपाललाई आफु अनुकुलको मौसमलाई कुवेतसंग बदला लिने अवसर छ । दशरथ रंगशालामा खेल नहुने भएपछि कुवेतले खाडीमै दोस्रो लेग गराउन हरसम्भव प्रयास गरेको थियो । तर चिसो मौसममै कुवेतलाई खेलाएर बदला लिने योजना सहित नेपालले भुटाननै विकल्पको रुपमा रोजेको हो ।

विमल घर्ति मगरसहित चार खेलाडी एन्फाको कारबाहीमा परेको हुँदा टिममा उपलब्ध हुने छैनन् ।

राष्ट्रिय टिममा रहँदा रातको समयमा नाईट क्लबमा भेटिएको भन्दै एन्फाले विमलसहित मिडफिल्डर अन्जन बिष्ट, सन्तोष तामाङ र डिफेन्डर दिनेश राजवंशीलाई टिमबाट बाहिर राख्दै अनुशासनको कारबाही गर्ने जनाएको छ ।