झापा। कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत कुवेतसँग दोस्रो खेलमा नेपाल पराजित भएको छ ।भुटानको थिम्पुमा मंगलबार भएको खेलमा नेपाल कुवेतसँग १-० गोलको झिनो अन्तरले पराजित भएको हो ।

खेलको सुरुवाती मिनेटदेखि नै कुवेतले नेपालमाथि दबाब कायम गरेको थियो । नेपालले बिरलै मात्र कुवेती हाफमा बल खेलाउन सक्यो । १५ औं मिनेटमा रवी पासवानले दिएको क्रसले पेनाल्टी क्षेत्रभित्र रहेका एकमात्र खेलाडी अभिषेक रिजाललाई भेट्न सकेन । खेलको २३ औं मिनेटमा पेनाल्टी क्षेत्रभित्र सुजल श्रेष्ठको लो क्रसमा अभिषेक रिजालको प्रहार ६ यार्ड बक्सनजिकबाट आकाशिएको थियो ।

खेलको २८ औं मिनेटमा कुवेतले अग्रता लियो । कप्तान बदर अल मुतावाले पेनाल्टी क्षेत्रको दायाँ भागबाट डिफेन्डरलाई बिट गर्दै मध्यभागको बाहिरसम्म बल ल्याउँदै गरेको गोलरक्षक किरणले डाइभ दिए पनि बचाउन सकेनन् । खेलको ४१औं मिनेटमा नेपालले बराबरी गर्ने सुवर्ण अवसरको सदुपयोग गर्न सकेन । तेज तामाङको कर्नरमा विक्रम लामाले दिएको पासमा रोहित चन्दको प्रहार कुवेती गोलरक्षकले डाइभ दिंदै उत्कृष्ट बचाउ गरे । उक्त रिबाउन्डमा तेजको प्रहारले पोस्टको दिशा लिन नसक्दा नेपाल खेलमा पछि नै रहेको थियो ।

दोस्रो हाफमा नेपालले केहि सुधारिएको प्रदर्शन गर्यो । बल पोसेसनमा केहि सुदृढ देखिएको नेपाली टोलीले विपक्षी गोलरक्षकलाई समस्या दिन भने सकेन । कुवेतले पनि केहि सटिक अवसर सिर्जना गर्दा गोलरक्षक किरण व्यस्त रहे । खेलको अन्तिम ५ मिनेट प्रशिक्षक योहान कालिनले आक्रामक रणनीति अबलम्बन गर्दै नवयुग श्रेष्ठ र सुवास गुरुङलाई मैदान प्रवेश गराए पनि गोल गर्न भने सकेन ।

नेपालले घरेलु मैदान तयार नहुँदा विश्वकप छनोटको खेल भुटानमा खेल्नुपरेको हो । नेपालले हालसम्म ५ खेलमा १ जित र ४ हार बेहोरेको छ । नेपालले छनोटमा ३ अंक जोडेको छ र पुछारबाट दोस्रो स्थानमा छ । यस जितसंगै ५ खेलमा १० अंक जोडेको कुवेत दोस्रो स्थानमा कायम छ । शीर्षस्थानकोअष्ट्रेलियाको ४ खेलमा १२ अंक छ भने जोर्डनले ४ खेलमा ७ अंक जोडेको छ । पुछारको ताइपेइ अंकविहिन छ ।

यसपटक टोलीमा ४ महत्त्वपूर्ण खेलाडी साथमा थिएनन् । उनीहरु टोली प्रस्थान गर्ने अघिल्लो रात क्लबमा भेटिएको कारण अनुशासन कारवाहीस्वरुप निलम्बनमा परेका हुन् ।