जयपुर । बुद्धशान्ति गाउँपालिक-२ स्थित जयपुरमा नवज्योति च्यालेञ्ज कप फुटबल प्रतियोगिताको सातौँ संस्करण हुने भएको छ ।

प्रतियोगिता माघ महिनाको दोस्रो साता स्थानीय आदर्श माविको खेल मैदानमा हुने पत्रकार सम्मेलन गरी आयोजकले जानकारी दिएको हो । आयोजक नवज्योति युवा क्लबका अध्यक्ष गोपाल पोख्रेलका अनुसार प्रतियोगितामा झापा, मोरङ, सुनसरी र इलामका ८ वटा टिमले सहभागिता जनाउने छन् । जिल्ला फुटबल संघमा दर्ता भएका क्लबलाई मात्र प्रतियोगितामा सहभागिता गराइने उनले बताए ।

विजेता टिमले नगद १ लाख १ हजार १११ रुपैयाँ पाउँदा उपविजेताले ५० हजार ५५५ रुपैयाँसहित ट्रफी पाउनेछ । त्यस्तै, प्रत्येक खेलको म्यान अफ दी म्याचले जनही २ हजार ५ सय पाउँदा म्यान अफ दी टुर्नामेन्टले नगद ५ हजार पाउनेछ ।

त्यस्तै, बेस्ट डिफेन्डर, बेस्ट मिडफिल्डर, बेस्ट कोच, बेस्ट किपर र बेस्ट फरवार्डले जनही ५-५ हजार पाउने छन् । क्लबका उपाध्यक्ष राम श्रेष्ठका अनुसार प्रतियोगिता सम्पन्न गर्न १० लाख ४६ हजार ६६६ रुपैयाँ अनुमान गरिएको छ । जसमा ९ लाख ९५ हजार १६६ रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

प्रतियोगिता सम्पन्न गरिसकेपछि बचत रकमले क्लबको जीर्ण भवनको मर्मत सम्भार गरिने क्लबका अध्यक्ष पोख्रेलले बताए । क्लबलाई गाउँपालिका र वडा कार्यालयले नगद ३ लाख सहयोग प्रदान गरेको छ ।

कार्यक्रममा बोल्दै २ नम्बर वडाध्यक्ष दिलिप श्रेष्ठले खेल सञ्चालन गर्ने आयोजकले स्थानीयबासीको विश्वास जित्न सक्नुपर्ने बताए । खेल क्षेत्रको विकासका लागि गाउँपालिका र वडा कार्यालय सकारात्मक भएको भन्दै उनले स्थानीय खेलप्रेमीको मन जित्न आयोजकलाई आग्रह गरे ।

खेल क्षेत्रबाटै बुद्धशान्तिको नाम उच्च राख्न खेलाडी उत्पादन गर्न आयोजकलाई उनको सुझाव थियो । उनले स्थानीय स्तरमा खेलाडी उत्पादनका लागि खेल शिक्षक राख्ने प्रक्रिया अघि सारिएको पनि जानकारी गराए ।

सोही कार्यक्रममा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले ‘मामा’ले आयोजकले आफैँ खेलाडी उत्पादन गरेर टिम बनाउँदा समाजमा सकारात्मक सन्देश जाने सुनाए । आफ्नै टिम भएपछि प्रतियोगिता सञ्चालन गर्दा स्थानीयले भरपूर सहयोग मिल्ने गरेको अनुभव पनि सुनाए ।

क्लबका सचिव मुकेश भट्टराईले सञ्चालन गरेको कार्यक्रममा वडा परिषद सदस्य नेत्रप्रसाद गौतम, झापा जिल्ला फुटबल रेफ्री संघका अध्यक्ष प्रदिप बस्नेतलगायतले आफ्ना भनाइ राखेका थिए ।