0 Shares

झापा । अर्जुनधारा-९ स्थित बाह्रघरेमा प्रथम बाह्रघरे आमन्त्रित अन्तर्राष्ट्रिय महिला तथा पुरुष कराते प्रतियोगिता हुने भएको छ ।

नेपाल सितोरियो कराते बाह्रघरे डोजोको आयोजनामा नेपाल, भारत र भुटानका १० वटा डोजोबीच आउँदो पुस ५ गते प्रतियोगिता हुने बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।

प्रतियोगितामा नेपालका आठ, भारत र भुटानका एक एक वटा डोजोको सहभागिता रहने क्लबका अध्यक्ष नारदमणि नेपालले बताए । प्रतियोगितामा २ सय जना खेलाडीले सहभागिता जनाउनेछन् ।

नेपालका स्थानीय डोजोका लागि २५ केजी तौलदेखि ६० केजीभन्दा माथिको तौल समूह र भारत तथा भुटानका लागि ४० केजीदेखि ६० केजीभन्दा माथिको तौल समूहबीच प्रतिस्पर्धा हुने एसियन कराते रेफ्री कुमार उप्रेतीले जानकारी दिए ।

नेपाल भ्रमण वर्ष २०२० लक्षित गरी प्रतियोगिता आयोजना गरिएको बताउँदै उनले अन्तर्राष्ट्रिय स्तरमा स्थानीय खेलाडीको पहुँच पुराउन अर्को उद्देश्य रहेको बताए ।

झापा जिल्ला कराते टेक्निकल कमिटीको प्राविधिक सहयोग रहने प्रतियोगिता सम्पन्न गर्न करिब चार लाख ५० हजार खर्च लाग्ने डोजोका सचिव हेमलाल परियारले बताए ।