झापा । अर्जुनधारा-६ स्थित दीपज्योति खेल मैदानमा बिहीबारदेखि झापा जिल्लास्तरी नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ ।
उद्घाटन खेलमा शनिश्चरे एफसीले शानदार विजयी सुरुवात गरेको छ । स्पर्धी धुलाबारी एकाडेमीलाई ६-० गोल अन्तरले पराजित गर्दै शनिश्चरे एफसी सेमिफाइनलमा प्रवेश गरेको छ ।

पहिलो हाफमा १ गोलले अग्रता लिएको शनिश्चरेले दोस्रो हाफमा गोलको वर्षा गरेको थियो । शनिश्चरेका लागि पेमा तामाङले खेलको ३०औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।

दोस्रो हाफको ३९ र ४७ मिनेटमा सौरभ लिम्बूले व्यक्तिगत दुई गोल गरेका थिए भने अभिषेक राईले ३१, सरोज कार्कीले ४९ र नानी लिम्बूले ५४औँ मिनेटमा गोल गरेर टिमलाई सेमिफाइनल यात्रा दिलाए ।

खेलमा व्यक्तिगत दुई गोल गरेका सौरभ लिम्बू म्यान अफ दी म्याच घोषित भए । उनलाई उद्घाटन खेलका प्रमुख अतिथि तथा संविधानसभा सदस्य प्रेम गिरी र झापा जिल्ला फुटबल संघका सदस्य टेकराज तिलिङले नगद २ हजार प्रदान गरे ।

कप्तानबारी युवा क्लबले आयोजना गरेको प्रतियोगितामा भोलि (शुक्रबार) राजगढ एफसी र जलथल एफसीबीच खेल हुनेछ ।

प्रतियोगिताको विजेताले नगद ३० हजार र उपविजेताले नगद २० हजारसहित ट्रफी पाउने आयोजक क्लबका अध्यक्ष श्याम दनुवारले जानकारी दिए ।