अर्जुनधारा । यहाँ जारी झापा जिल्लास्तरीय फुटबल प्रतियोगितामा झापा एफसी राजगढ अन्तिम चारमा प्रवेश गरेको छ ।

स्थानीय दीपज्योति खेल मैदानमा शुक्रबार भएको दोस्रो क्वार्टरफाइनल खेलमा जलथल एफसीलाई ३-० गोलले पाखा लगाउँदै जलथलले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । राजगढका लागि पहिलो हाफमा १ र दोस्रो हाफमा २ गोल सम्भव भएको थियो ।

पहिलो हाफको २६औँ मिनेटमा शुभम रायाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यस्तै, दोस्रो हाफको १७औँ मिनेटमा रोमन तामाङ र २०औँ मिनेटमा गणेश हेमरमले गोल गर्दै सेमिफाइनल खेलका लागि स्थान सुरक्षित बनाए ।

खेलको म्यान अफ दी म्याच राजगढका गणेश हेमरम घोषित भए । उनलाई अर्जुनधारा नगर खेलकुद विकास समितिका संयोजक अर्जुन मेचे र झापा जिल्ला फुटबल संघका सदस्य टेकराज तिलिङले नगद २ हजार पुरस्कार प्रदान गरे ।

कप्तानबारी युवा क्लबले आयोजना गरेको प्रतियोगितामा जिल्लाका ८ टिम सहभागी छन् । भोलि (शनिबार) आयोजकले बिर्तामोड युनाइटेड एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताको विजेताले नगद ३० हजार र उपविजेताले नगद २० हजारसहित ट्रफी पाउने आयोजक क्लबका अध्यक्ष श्याम दनुवारले जानकारी दिए ।