अर्जुनधारा । यहाँ जारी झापा जिल्लास्तरीय फुटबल प्रतियोगितामा आयोजकमाथि बिर्तामोड युनाइटेड एफसीले गोलवर्षा गरेको छ ।

शनिबार स्थानीय दीपज्योति खेल मैदानमा भएको तेस्रो क्वार्टरफाइनल खेलमा आयोजक कप्तानबारी युवा क्लबलाई ८-१ गोलको फराकिलो जीत निकालेर बिर्तामोड युनाइटेड सेमिफाइनल प्रवेश गरेको छ ।

बिर्तामोड युनाइटेडका लागि आशिष चापागाईले ह्याट्रिकसँगै ५ गोल गरे । उनले खेलको २, २०, २१औँ मिनेटमा ह्याट्रिक पूरा गरेका थिए भने २४औँ र ३९औँ मिनेटमा थप गोल गर्दै फराकिलो नतिजा निकाले ।

त्यस्तै, बिर्तामोडकै नरेन लिम्बूले २९ र ४५औँ मिनेटमा र समिर गुरुङले खेलको ३५औँ मिनेटमा गोल गरेका थिए । आयोजकका लागि भने सञ्जोग दनुवारले खेलको ३८औँ मिनेटमा सान्त्वना गोल गरेका थिए ।

खेलको म्यान अफ दी म्याच विजेता बिर्तामोड युनाइटेडका आशिष चापागाई घोषित भए । उनलाई अर्जुनधारा वडा नम्बर १० का अध्यक्ष बलदेव गोम्देन र झापा जिल्ला फुटबल संघका सदस्य टेकराज तिलिङले पुरस्कारस्वरुप नगद २ हजार पुरस्कार प्रदान गरे ।

कप्तानबारी युवा क्लबले आयोजना गरेको प्रतियोगितामा जिल्लाका ८ टिम सहभागी छन् । भोलि (आइतबार) रेड स्टार क्लब बिर्तमोडले मनास्लु एफसी कालिस्थान अर्जुनधारासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताको विजेताले नगद ३० हजार र उपविजेताले नगद २० हजारसहित ट्रफी पाउने आयोजक क्लबका अध्यक्ष श्याम दनुवारले जानकारी दिए ।