0 Shares

काठमाडौं । नेपाली महिला भलिबल टोलीले १३औं साग अन्तर्गत महिला भलिबलमा कम्तीमा पनि रजत पदक पक्का गरेको छ ।

शनिबार राति भएको सेमिफाइनलमा श्रीलंकामाथि ३-० को सोझो सेटमा जित हात पार्दै फाइनलमा प्रवेश गरेपछि नेपालले कम्तीमा पनि रजतपदक पक्का गरेको हो । नेपाल सागको महिला भलिबलमा पहिलोपटक फाइनलमा प्रवेश गरेको हो ।

यसअघि नेपाल सेमिफाइनलभन्दा अघि बढ्न सकेको थिएन । यसपटक नेपाल घरेलु भुमिमा भएको प्रतियोगितामा फाइनलमा पुग्न सफल भएको हो । यसअघि नेपालले १९९९, २००६ र २०१६ मा कास्य जितेको थियो ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको खेलमा नेपालले पहिलो सेटमा २५-१४ को सहज जित निकालेको थियो । दोस्रो सेटमा पनि नेपालले २५-१८ को सहज जित निकालेको थियो । एक समयमा ९ अंकको आरामदायी अग्रता लिएर पनि श्रीलंका खेलमा फर्कदा नेपाल दवावमा परेको थियो । तर, नेपालले त्यसपछि केही अंक गुमाए पनि जित निकाल्न सफल भयो ।

तेस्रो सेटमा शुरुवातदेखि नै श्रीलंकासँग पछि परे पनि नेपालले उत्कृष्ट पूनरागमन गर्दै जित निकाल्न सफल भयो । लगातार दुई अंकले पछि परेको नेपालले ११ अंकमा बराबरी गर्न सफल हुदै अग्रता लिँदै २५-२१ को जित हात पार्न सफल भएको थियो ।

अब नेपालले उपाधिको लागि सोमबार भारतको सामना गर्नेछ । यसअघि पहिलो सेमिफाइनलमा भारतले माल्दिभ्सलाई सोझो सेटमा पराजित गरेको थियो ।