काठमाडौं । दक्षिण एसियाली खेलकुदको १३ औं संस्करण आजबाट औपचारिक रुपले सुरु हुँदैछ । आज साँझ त्रिपूरेश्वरस्थित दशरथ रंगशालामा हुने भव्य र रंगिन समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले १३ औं सागको उद्घाटन गर्नेछिन् ।

२०७२ को विनाशकारी भूकम्पबाट क्षतिग्रस्त रंगशाला चार वर्ष लगाएर पुर्ननिर्माण गरिएपछि आज पहिलो पटक औपचारिक समारोह आयोजना गर्न तयार भएको छ ।

झण्डै साँढे तिन घण्टासम्म चल्ने उद्घाटन समारोहमा नेपालको हिमाल, पहाड, तराइलगायत दक्षिण एशियाकै संस्कृती र पहिचान झल्कीने झाँकीहरु प्रस्तुत गरिने बताईएको छ ।

उद्घाटन समारोहमा ७ हजारभन्दा बढी कलाकारहरु सहभागि हुँदैछन् । दक्षिण एसियाली खेलकुदका चार पटकका स्वर्ण पदक विजेता तथा ओलम्पियन दिपक विष्टले ओलम्पिक टर्च बाल्नेछन् ।

यसैगरी सागका स्वर्णपदकधारी भारत्तोलन खेलाडी कमल बहादुर अधिकारीले मार्च पासमा नेपालको झण्डा बोक्नेछन् भने खेलाडीहरुको तर्फबाट तेक्वान्दो खेलाडी आयसा शाक्यले शपथ लिनेछिन् ।

१० दिनसम्म चल्ने १३ औं सागमा ७ देशका झण्डै ३ हजार खेलाडी सहभागि हुँदैछन् । सागमा समावेश गरिएको २६ खेलमा तीन सय १७ स्वर्ण, तीन सय १७ रजत र चार सय ८१ कास्य गरी एक हजार एक सय १५ पदकका लागि भिडन्त हुँदैछ ।

थ्री बाई थ्री बास्केटबल र बिच भलिबल अनअफिसियल खेल हुन् । १३ औं सागअन्तर्गत काठमाडौंमा १९, पोखरामा ८ र जनकपुरमा एउटा खेल हुनेछ । नेपालले दक्षिण एसियाली खेलकुद आयोजना गरेको यो तेस्रो पटक हो ।

यसअघि सन् १९८४ मा काठमाडौंमा पहिलो साग आयोजना गरिएको थियो भने १९९९ मा दोस्रो पटक नेपालले आठौं साग आयोजना गरेको थियो । २० वर्षपछि नेपालले फेरी दक्षिण एसियाली खेलकुदको यो महाकुम्भ आयोजना गर्न लागेको हो ।