इश्वरचन्द्र झा
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को आज एक समारोहबीच उद्घाटन भयो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक रुपमा उद्घाटन गर्नुभयो ।

सो अबसरमा उपराष्ट्रपति नन्दबहादुर पुन तथा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवरा पूर्व प्रधानमन्त्रीहरू लगायतका उच्च अधिकारीको उपस्थिति रहेको थियो । उद्घाटन सागको अन्य संस्करणभन्दा पृथक, भब्य हुने छ । साग खेलको पूर्वसन्ध्यामा चारवर्ष लगाएर पुनर्निमाण गरिएको दशरथ रङ्गशाला आकर्षक एवम् मनमोहक बनाइएको छ ।

औपचारिक उद्घाटन अगाडि सातै देशका सहभागी खेलाडीहरूले मार्च पास्ट गरेका थिए । दशरथ रङ्गशालाको बाहिरि तथा भित्री दृश्यले अन्तर्राष्ट्रिय रङ्गशालाको स्वरुप ग्रहण गरिसकेको छ । उद्घाटन समारोहमा रङ्गशाला सजिव देखिएको थियो विद्युतीय सजावटले बाहिरि आकर्षण थप्दा भित्र हुने कार्यक्रमले सागलाई अन्य संस्करणभन्दा पृथक बनाएको थियो

उद्घाटन समारोह तीन घण्टा १४ मिनेट चल्ने तय भएको छ । समारोहमा हिमाल, पहाड, तराई–मधेशको झाँकी, भेषभूषा समेटिएको नेपालको विविधतापूर्ण संस्कृतिको झल्को दिइएको थियो उद्घाटन समारोहमा १५ हजार दर्शक रङ्गशाला भित्र रहने अनुमान गरिएको छ । भित्र उद्घाटन समारोह चलिरहँदा बाहिरको वातावरण समेत ‘साग’मय बनाउन राष्ट्रिय खेलकुद परिषद्ले २५ स्थानमा ठूला स्क्रिनमा भित्रको गतिविधिको प्रत्यक्ष प्रसारणको व्यबस्था मिलाएको छ समारोहमा सहभागी सातवटै देशका खेलाडीले मार्चपास गर्नेछन् ।

विकेन्द्रित ‘साग’
नेपालले तेस्रोपटक दक्षिण एसियाली खेलकुदको आयोजना गरिरहँदा पहिलोपटक अन्तर्राष्ट्रिय समारोह विकेन्द्रित गरी देशको तीनवटा भू भागमा हुँदैछ । काठमाडौं, ललितपुर, पोखरा र जनकपुरधाममा तेह्रौं सागका खेलहरु हुने तय गरिएको छ । आर्चरी, महिला क्रिकेट, ब्याडमिन्टन, महिला फुटबल, हयाण्ड बल, बीच भलिबल र भारत्तोलन गरी सात विधाका खेल पोखरामा हुनेछन् ।

त्यसैगरी कुस्तीका सबै स्पर्धा जनकपुरधामस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा हुनेछन् । सदस्य सचिव सिलवाल भन्नुहुन्छ, “सिंगो देशलाई एकताको सूत्रमा बाँध्न र तराई मधेशले पनि ठूलो उत्सवको अपनत्व दिन सागलाई विकेन्द्रित गरेका छौं ।” यद्दपी साग खेलहरु काठमाडौं बाहिर पनि भइरहँदा यसले दीर्घकालीन रुपमा खेलकुदको पूर्वाधार र खेलाडी उत्पादनमा समेत महत्वपूर्ण हुने देखिन्छ ।

उपत्यका बाहिर साग खेल हुने पोखरा र जनकपुुरधाममा खेल प्रशंसक एवम् खेलाडीमा ऊर्जा र उत्साह थपिएको छ । जनकपुरधामका एकजना शिक्षक रबिन्द्र चौधरी भन्छन्, “आगामी दिनमा पूर्वाधार एवम् संरचना निर्माण गर्न दबाब तीनै तहको सरकारमाथि हुनेछ, प्रदेश र स्थानीय सरकारको जिम्मेवारी संरचना निर्माण र खेलाडी उत्पादनका लागि अझै बढी रहनेछन् ।”

तेह्रौं सागमा सहभागिता
सागको तेह्रौं संस्करणमा सबैभन्दा बढी खेलाडी सहभागी हुने राष्ट्र नेपाल हो । नेपालका ५९६ खेलाडी सागको २८ वटै विधामा सहभागी भइरहेको छ । भौगोलिक र जनसांख्यिक हिसाबले समेत सानो रहेको भूटानले सबैभन्दा कम ११६ खेलाडीको टोली सागमा उतारेको छ । नेपालपछि श्रीलङ्काको ५६४ जना खेलाडी सहभागी छन् । भारतले ४८७, बङ्गलादेशले ४७०, पाकिस्तानले २६६ र माल्दिभ्सका २१६ खेलाडी सहभागी हुनेछन् । विदेशी खेलाडीहरु लगभग आइसकेका छन् । र केही आउनेक्रममा छन् ।

सागमा कुल दुई हजार ७१५ खेलाडी एक हजार एक सय ३५ पदकका लागि स्पर्धा गर्दैछन् । भारतको सिलोङ्गमा सम्पन्न १२ औं सागमा भने ७६४ पदकका लागि दुई हजार ६७२ खेलाडी सहभागी थिए । उक्त संस्करणमा २२८ स्वर्ण, २२८ रजत र ३०८ कास्य पदकका लागि होड भएको थियो । यसपटक भने खेलसंख्या पनि २२ बाट बढाएर २८ पुर्याइएको छ । कुल २२६ स्पर्धा भएको थियो ।

भारतले १३ औं सागको मुख्य ‘इभेन्ट्स’मा आफ्नो सहभागिताबाट हात झिक्दा समग्र समारोहकै आकर्षण नै कम त हुने हैन प्रश्नको जवाबमा सदस्य सचिव सिलवाल भन्नुहुन्छ, “दक्षिण एसियाका अधिकांश राष्ट्र वरियतामा थोरै मात्रै तल माथि छ, भारत र पाकिस्तान नआए पनि सागको महत्व र आकर्षणमा कमी आउन्न ।” भारत र पाकिस्तानले फुटबलमा सहभागीता जनाएको छैन् । पाकिस्तान क्रिकेटमा सहभागी भए पनि भारतीय खेलाडी सहभागी हुने छैनन् । फुटबल र

नेपालको अपेक्षा र विगत्
घरेलु मैदानमा भइरहेको तेह्रौं सागमा नेपालले अब्बल प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । सदस्य सचिव सिलवाल भन्नुहुन्छ, “लक्ष्य ५० स्वर्ण हो, भारत्तोलन, कुस्ती, कराँते, खो खो जस्ता विधामा जोड घटाउ गर्दा त्यत्ति पुग्छ ।” गोरखापत्रबाट