काठमाडौं । कप्तान चेन्चो ग्याल्जेनको एकमात्र गोलमा १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत फुटबलतर्फ भुटानले बंगलादेशमाथि १-० को जित निकालेको छ ।
प्रतियोगिताको पहिलो खेलमा चेन्चोले ६५ औं मिनेटमा गरेको गोल जितका लागि पर्याप्त रहयो । भुटानले यस जितसँगै महत्त्वपूर्ण ३ अंक जोडेको छ । उपाधि जित्ने लक्ष्य राखेको बंगलादेशलाई भने यस हारले फाइनल पुग्ने सम्भावनालाई कठिन बनाएको छ ।
सागअन्तर्गत पुरुष फुटबलमा ५ राष्ट्रको सहभागिता रहेको छ । सुरुवातमा भारतले पनि प्रतिस्पर्धा गर्ने भनेपछि ६ राष्ट्रलाई २ समूहमा विभाजन गरिएको थियो । तर भारतको अनुपस्थितिपछि प्रतियोगिता राउण्ड रोबिन लिगमा खेलाइएको हो ।
यस निर्णयप्रति श्रीलंका र माल्दिभ्सले आधिकारिक रुपमा विरोध समेत जनाएका थिए ।
अहिले साँझ दोस्रो खेलमा श्रीलंका र माल्दिभ्स भिडिरहेका छन् । नेपालले भने पहिलो दिन खेल्ने छैन । नेपालले पहिलो खेलमा मंगलबार भुटानको सामना गर्नेछ । त्यस्तै भोलि हुने दोस्रो खेलमा बंगलादेश र माल्दिभ्स खेल्नेछन् ।