0 Shares

भद्रपुर । टाइब्रेकरमा सुर्यनगर फुटबल क्लब भद्रपुरलाई पराजित गर्दै चन्द्रगढी फुटबल क्लब झापा जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

ख्रिष्टमस २०१९ र नवबर्ष सन् २०२० को अवसरमा बिलिभर्स इष्टर्न चर्च भद्रपुरद्वारा आयोजित खेलमा सुर्यनगरलाई टाइब्रेकरमा ४-३ गोलले चन्द्रगढी क्वाटरफाइनलमा प्रवेश गरेको हो । भद्रपुर माविको खेल मैदानमा आज भएको तेस्रो दिनको खेलमा दुवै टिमले निर्धारित समयमा गोल गर्न निक्कै प्रयास गरे पनि खेल टाइब्रेकरमा गयो ।

टाइब्रेकरमा चन्द्रगढीबाट मिलन राई, श्याम मुर्मु, पूर्ण भण्डारी र रोशन भण्डारीले गोल गरेका थिए । सुर्यनगरका तर्फबाट बुद्ध राई, आदित्य अधिकारी र सोहम गुरुङले गोल गरे । निवाङ लिम्बुले प्रहार गरेको बल चन्द्रगढीका गोलरक्षकले रोकेका थिए भने चन्द्र प्रधानले प्रहार गरेको बल पोष्टभन्दा बाहिर गएको थियो ।

खेलको म्यान अफ दी म्याच चन्द्रगढीका सञ्जय लिम्बु घोषित भए । उनलाई वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले ट्रफी प्रदान गरे । बुधबार कचनकवल फुटबल क्लब र बिलिभर्स इष्टर्न चर्च मोरङबीच हुने छ । विजेता टिमलाई नगद ३० हजार र उपविजेता टिमलाई नगद २० हजारसहित ट्रफी प्रदान गरिनेछ ।