काठमाडौँ । एथलेटिक्स खेलै पुरानो । यसलाई ‘फादर अफ स्पोर्ट्स’ मानिन्छ । यही एथलेटिक्समा सन्तोषी श्रेष्ठले मंगलबार स्वर्णपदक जितेर इतिहास रचेकी छन् । १३ औं दक्षिण एसियाली खेलकुदमा प्राप्त यो उपलब्धिले उनी एथलेटिक्समा नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय स्वर्ण जित्ने महिला खेलाडी भएकी हुन् ।

सन्तोषीले दशरथ रंगशालाको ट्र्याकमा १० हजार मिटर दौडमा त्यो सफलता हासिल गरेकी हुन् । उनले एक मिलिसेकेन्डले मात्र भारतीय प्रतिद्वन्द्वी कविता यादवलाई पछाडि पारिन् । सन्तोषीको टाइमिङ निस्कियो ३५ मिनेट ०७.९४ सेकेन्डको । कविताको टाइमिङ थियो ३५ मिनेट ०७.९५ सेकेन्ड । एक मिलिसेकेन्ड भनेको त्यति थोरै समय हो, जुन एक सेकेन्डलाई हजार भाग लगाउँदाको एक भाग हो । अर्थात्, हजार मिलिसेकेन्ड बराबर एक सेकेन्ड हुन्छ ।

‘फोटो फिनिस’ (यति नजिक कि अन्तिम रेखा पार गर्दा शरीरको भागबाट गरिनुपर्ने मूल्यांकन) कै रूपमा उनले बाजी मार्दै इतिहास कोरेकी हुन् । एक मिलिसेकेन्डले जीवनमा के अर्थ राख्ला ? यही एक मिलिसेकेन्डले सफलता चुमेकी सन्तोषीले सुनाइन्, ‘टाइम म्यानेजमेन्टमा धेरै कमजोर हुँ । रनिङमा लागेपछि एक मिलिसेकेन्ड पनि कति महत्त्वपूर्ण छ भन्ने बुझ्न थालेकी छु ।’

तेस्रो भएकी श्रीलंकाली निलान्थी लंकाले ३५ मिनेट ५९।०२ सेकेन्डमा दूरी पार गरेकी थिइन् । सात प्रतिस्पर्धीमा नेपालकी विश्वरूपा बुढा ९३८.२४.०३० छैटौं स्थानमा रहिन् । सन्तोषीेले जितेको यो स्वर्णपदक धेरै अर्थमा विशेष रह्यो । कान्तिपुर दैनिकमा प्रकाशित समाचारको अंश