भद्रपुर । कचनकवल फुटबल क्लव झापा जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

भद्रपुर माविको खेल मैदानमा आज भएको खेलमा बिलिभर्स इष्टर्न चर्च मोरङलाई ३-१ गोलको फराकिलो अन्तरले पराजित गर्दै कचनकवल क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

खेल सुरु भएलगतै मोरङलाई दवावमा राखेको कचनकवलका लागि महेन्द्र नेपालीले १०औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । एक गोलले पछि परेको मोरङले खेलको १८औं मिनेटमा गोल फर्काउँदै खेल बराबरीमा ल्याए । मोरङका अनिल तिम्सिनाले गोल गरेका हुन् । त्यसको केही मिनेट बित्न नपाउँदै कचनकवलका रोमन तामाङले २२औ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए ।

दोस्रो हाफ्मा मोरङले खेल बराबरी गर्न निक्कै प्रयास गर्यो । तर, कचनकवलले सो अवसर दिएन । खेलको २२औं मिनेटमा कचनकवलका रोमन तामाङले गोल गर्दै टिमलाई दुई गोलले अग्रता दिलाए । तामाङले खेलमा दुई गोल गरेका थिए ।

खेलको म्यान अफ द म्याच कचनकवलका तामाङ घोषित भए । बिहीबार हुने पहिलो क्वाटरफाइनल खेलमा आयोजक बिलिभर्स इष्टर्न चर्च भद्रपुर र फुलगाछी फुटबल क्लबबीच प्रतिस्पर्दा हुने खेल संयोजक अनिल लिम्बूले जानकारी दिए ।

बिलिभर्स इष्टर्न चर्च भद्रपुरद्वारा आयोजित प्रतियोगिताको विजेता टिमलाई नगद ३० हजार र उपविजेता टिमलाई नगद २० हजारसहित ट्रफी प्रदान गरिनेछ ।