अर्जुनधारा । झापाको अर्जुनधारा-६ मा आयोजित तेस्रो कप्तानबारी जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिता-२०७६ को उपाधि झापा एफसी राजगढले जित्न सफल भएको छ ।

स्थानीय दिपज्योति खेल मैदानमा बिहीबार सम्पन्न फाइनल खेलमा शनिश्चरे फुटबल क्लबलाई आर्जुनधारालाई १-० गोलअन्तरले पराजित गर्दै झापा एफसीले उपाधि जित्न सफल भएको हो ।

झापा एफसीको जीतमा खेलको ५३औं मिनेटमा रोमन तामाङले गोल गरेका थिए । प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः नगद पुरस्कार ३० हजार र २० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरियो ।

त्यसैगरी प्रतियोगिताको म्यान अफ दी टुर्नामेन्ट शनिश्चरेका सौरभ लिम्बू, फाइनल खेलको म्यान अफ दी म्याच झापाका सुभम राया, बेस्ट गोलकिप्पर झापा एफसीका राजकुमार लिम्बू, बेस्ट डिफेन्डर शनिश्चरेका प्रमोद चौधरी, बेस्ट मिडफिल्डर झापाका गोकुल राजवंशी, बेस्ट फरवार्ड झापाका गणेश मुर्मू र हाइ स्कोरर बिर्तामोड युनाइटेडका आशिष चापागाईं घोषित भए ।

विजेता र उपविजेता टिमका खेलाडीहरुलाई अर्जुनधारा वडा नम्बर १० का अध्यक्ष बलदेव गोम्देन र ६ नम्बर वडाका अध्यक्ष लोकनाथ गौतम, नगर सभा सदस्यद्वय माया खाती र लक्ष्मी महतरा, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगीरथ आले “मामा”, नगर खेलकुद विकास समितिका संयोजक अर्जुन मेचेलगायतले पुरस्कार प्रदान गरेका थिए ।

कप्तानबारी युवा क्लबको आयोजनामा आयोजित प्रतियोगिताको प्रथम पुरस्कार खेलकुदप्रेमी हरिशचन्द्र बाँस्तोला र द्वितीय पुरस्कार दाताद्वय चन्द्र प्रसाईं र हरि ओलीले प्रायोजन गरेका थिए ।

क्लबका अध्यक्ष श्याम दनुवारको अध्यक्षतामा आयोजित समापन कार्यक्रममा स्थानीय देवी पाथीभरा इङ्लिस स्कूलका विद्यार्थीहरुले स्वागत नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन करातेका राष्ट्रिय प्रशिक्षक दुर्गाराज निरौलाले गरेका थिए ।