तेह्रथुम । आयोजक बिटिएफसीले दोस्रो भगिमानसिं तुम्बाहाम्फे स्मृति गोल्डकपमा विजयी सुरुवात गरेको छ ।

स्थानीय म्याङलुङ खेलमैदानमा शुक्रबारदेखि सुरु गोल्डकपको उद्घाटन खेलमा डाँगीहाट एफसी मोरङलाई सडन डेथमा पराजित गर्दै आयोजक बिटिएफसी सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रतिस्पर्धात्मक खेलमा निर्धारित समयमा गोलरहित बराबरी खेलेपछि निर्णय लिन टाइब्रेकर रोजिएको थियो । टाइब्रेकरमा पनि बराबरी भएपछि खेलको छिनोफानो सडन डेथबाट भएको हो । आयोजकले जसमा ७-६ गोलअन्तरले पराजित गरेको हो ।

आयोजकका लागि दिनेश लिम्बूले निर्णायक गोल गरेका थिए । डाँगीहाटका अनिल चौधरीको प्रहार आयोजकका गोलरक्षक विशाल लिम्बूले बचाउ गरे भने किरण लिम्बूको प्रहार बाहिरिएको थियो ।

त्यस्तै, आयोजकका कप्तान विकास गुरुङको प्रहार डाँगीहाटका गोलरक्षक सनम राईले बचाएका थिए । खेलको म्यान अफ दी म्याच आयोेजकका सन्तोष फोम्बो घोषितहुँदै नगद १० हजारबाट पुरस्कृत भए ।

गोल्डकपमा आठ वटा टिम सहभागी छन् । भोलि शनिबारको खेल गाइघाट एफसीले द योङ ब्रदर्स इटहरीसँग प्रतिस्पर्धा गर्नेछ ।

गोल्डकपको विजेताले नगद ३ लाख पाउनेछ ।