भद्रपुर । कचनकवलमाथि रोमाञ्चक जीत निकाल्दै बिलिभर्स इष्टर्न चर्च काँकडभिट्टा झापा जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
भद्रपुर माविको खेल मैदानमा शुक्रबार भएको दोस्रो क्वाटरफाइनल खेलमा कचनकवल फुटबल क्लबलाई ३-२ गोलले स्तब्ध बनाउँदै काँकडभिट्टा सेमिफाइनलमा प्रवेश गरेको हो ।
पहिलो हाफमा काँकडभिट्टालाई दबाब राख्दै कचनकवलले दुई गोलले अग्रता लिएको थियो । खेलको १५औ मिनेटमा कचनकवलका रोमन तामाङले गोल गर्दै अग्रता दिलाए ।
काँकडभिट्टाका विशाल र्मुर्मु खेलको २०औँ मिनेटमा आत्मघाती गोल गरेपछि कचनकवलले अग्रता दोब्बर बनायो । तर, पहिलो हाफमा एक गोल पनि लगाउन नसकेका काँकडभिट्टा दोस्रो हाफमा लयमा फर्किए ।
आक्रामक खेल प्रदर्शन गर्दै दोस्रो हाफमै काँकडभिट्टाले तीन गोल लगाए । खेलको ११औँ मिनेटमा काँकडभिट्टाका पदम राईले एक गोल फर्काए । खेलको १८औँ मिनेटमा काँकडभिट्टाकै अमोश मगरले गोल फर्काउँदै खेल बराबरीमा ल्याए ।
खेलको २६औ मिनेटमा कचनकवलले आत्मघाती गोल गरेपछि काँकडभिट्टाले रोमाञ्चक जीत हासिल गरे । खेलको म्यान अफ दी म्याच काँकडभिट्टाका सुमन श्रेष्ठ घोषित भए । उनलाई नगदसहित पुरस्कृत गरिएको थियो ।
आज शनिबार हुने पहिलो सेमिफाइनल खेल चन्द्रगढी फुटबल क्लब र फुलगाछी फुटबल क्लबबीच हुने खेल संयोजक अनिल लिम्बुले जानकारी दिए ।