तेह्रथुम । साविक विजेता माइभ्याली एफसी इलाम दोस्रो भगिमानसिं तुम्बाहाम्फे स्मृति गोल्डकपको पहिलो खेलबाटै घर फर्किएको छ ।

स्थानीय म्याङलुङ खेलमैदानमा शनिबार भएको दोस्रो क्वाटरफाइनल खेलमा द योङ ब्रदर्स इटहरीले इलामलाई सडन डेथमा रोक्दै घर फर्काएको हो । सडन डेथमा इटहरीले ७-६ गोलअन्तरमा बाजी मारेको हो । दुवै टिमले अफ्रिकन खेलाडी मैदान उतारे पनि अपेक्षित प्रदर्शन हुन सकेन ।

निर्धारित ८० मिनेटको समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । थप १५ मिनेटको समयमा पनि गोल हुन नसकेपछि निर्णय लिन टाइब्रेकर रोजिएको थियो । तर, निर्णय भने सडन डेथबाट हुन पुग्यो ।

इटहरीका लागि रमेश राजवंशी, असिम राई, विमल मगर, उफन, मनिन्द्र याख्खा, दिपेन घिसिङ र सानश लुंगेलीको प्रहारमात्र गोलमा परिणत भएको थियो भने दिनेश राईको प्रहार इलामका गोलरक्षक सार्जन लिम्बूले बचाउ गरेका थिए ।

इलामका लागि भने ग्लोरी, एर्नो, हरि सिटौला, युवराज राई, विवेक राई र प्रकाश भुजेलको प्रहार गोलमा परिणत भए पनि एलेक्सको प्रहार बाहिरिँदा निरोज बस्नेतको प्रहार इटहरीका गोलरक्षक विष्णु चौधरीले बचाएका थिए ।

खेलको म्यान अफ दी म्याच इटहरीका गोलरक्षक विष्णु चौधरी घोषित भए । उनलाई नगद १० हजार पुरस्कार प्रदान गरियो । आठ टिम सहभागी गोल्डकपमा भोलि (आइतबार) फिदिम स्पोर्टिङ क्लब पाँचथर र चर्च ब्वाइज युनाइटेड काठमाण्डौले प्रतिस्पर्धा गर्नेछ ।

गोल्डकपको विजेताले नगद ३ लाख पाउनेछ ।